विजय दशमी : असुरमाथि आत्मिक विजयको प्रेरणा

२०८२ असोज १६ बिहीबार ०७:१२:०० मा प्रकाशित

हिन्दुहरुको महानपर्व बडा दशैँको प्रारम्भ घटस्थापनाको दिनबाट शुरु हुन्छ। त्यसै दिन नवदुर्गा भगवतीलाई आह्वान गरी पूजाको प्रारम्भ गरिन्छ। त्यसै दिन गहुँ, जौ, मकै आदि अन्नबिजन शुद्ध माटोमा रोप्ने गरिन्छ। त्यही अन्नबाट उम्रेको बिरुवा अर्थात् जमरा फूलको रूपमा विजय दशमीका दिन शिरमा धारण गर्ने चलन छ।

नौ दिनसम्म दुर्गा भगवतीको नौ शक्ति रूपलाई पूजा–आराधना गर्ने भएकाले दुर्गा शक्तिको नाम नवदुर्गा राखिएको भन्ने शास्त्रका ज्ञाताहरूको धारणा छ। नौ दिन उपासना गर्ने भगवतीका रूपहरू क्रमशः – शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री हुन्। यी सबैलाई शक्तिको विभिन्न श्रोत मानी पूजा गर्ने विश्वास परम्परागत रूपमा रहिआएको छ।

दशैँ मान्ने संस्कृति समुदाय, भौगोलिक क्षेत्र र समय–काल अनुसार फरक देखिन्छ। धार्मिक परम्परा जस्तो भए पनि, यो पर्वको अवसरमा परिवारका सदस्यहरू, छरछिमेक भेला हुने, शुभकामना आदान–प्रदान गरी खुशी साट्ने अनुपम संस्कृति प्राचीन कालदेखि चली आएको छ।

दैत्यहरूले देवताहरुलाई दुःख दिएपछि, देवताहरूले दुर्गा भगवतीको स्तुति गरेका थिए। भगवती दुर्गाले शान्ति–व्यवस्था बिगार्ने दानव वा रावणको वध गरी दैवी राज्य स्थापना गरेकी स्मरणमा यो दिनलाई विजय दशमी मानी दशैँ पर्व मनाउने परम्परा आजसम्म चलिआएको छ।


अर्को तर्फ एउटा आध्यात्मिक तर्क पनि छ। घटस्थापनाको दिनदेखि दुर्गा पूजाले आत्माको ऊर्जा जागृत गर्न, संकल्पलाई दृढ बनाउन र भित्रै लुकेको नकारात्मक शक्तिमाथि विजय प्राप्त गर्न नौ दिनसम्म दैवी शक्तिको उपासना गरिन्छ। दुर्गाको विभिन्न रूपको साधना गर्नु भनेको शान्ति–व्यवस्थाका लागि आवश्यक शक्ति इमर्ज गर्नु हो।

आफूभित्र राम प्रवृत्ति जन्माउनु हो। रामको शक्तिले यदि हरेक मानिसले भित्रैको रावणलाई मार्न सक्यो भने – अर्थात् दिव्य ज्ञानको प्रकाशले अहंकारी दुर्गुणी असुरलाई भस्म गर्न सक्यो भने – त्यो नै सच्चा पुरुषार्थ हो।

रावण भन्नु शक्ति भएको तर गलत मार्गमा प्रयोग गर्ने असुर प्रवृत्ति हो। काम, क्रोध, लोभ, मोह, अहंकार, ममता, घमण्ड, घृणा, द्वेष जस्ता अवगुणहरूले मनलाई उन्मत्त बनाउँछन्। हरेक वर्ष रावणको रूप फेरिँदै अझ ठूलो हुँदै गएको छ। उसका उदण्ड व्यवहारले परिवार, समाज, देश र विश्वलाई अशान्त बनाइरहेको छ।

मनभित्र उब्जेको असुरलाई आफैंले नियन्त्रण गर्न सकेन भने राज्य व्यवस्था वा कानुनले पनि नियन्त्रण गर्न सक्दैन। आज विश्व अत्याधुनिक वैज्ञानिक युगमा प्रवेश गरिसकेको छ। तर आविष्कारका साधनहरू मानवता, शान्ति, बन्धुत्व र विकासको सट्टा आतंकवाद, विनाश र दानवत्वका लागि प्रयोग भए भने, आत्माको शक्ति दैत्य–असुरले कब्जा गरी गलत बाटोतर्फ डोर्याउन सक्छ।

जब हामीमा सकारात्मक ऊर्जा वा दैवी शक्ति भरिँदैन, तब भित्रको असुरले ताण्डव नृत्य गरिरहेको हुन्छ। त्यसैले यसमाथि विजय पाउन आध्यात्मिक ज्ञानको आवश्यकता हुन्छ।

पहिलो युद्ध हो – भित्रकै असुर र देवता बीचको युद्ध, अर्थात् सकारात्मक र नकारात्मक सोचबीचको युद्ध। जसले जित्छ, त्यसैअनुसार जीवनमा परिणाम आउँछ।

यदि असुरले विजय प्राप्त गर्यो भने आत्मा पीडित हुन्छ, शरीर रोग–शोकले ग्रस्त हुन्छ। आत्मा कमजोर ब्याट्री जस्तो हुन्छ, र यदि त्यो ब्याट्री रावणरूपी चार्जरले चार्ज गर्यो भने आत्मा नकारात्मक उर्जाले चल्छ। तर यदि देवगुणरूपी चार्जरले चार्ज गर्यो भने योग, ध्यानजस्ता सकारात्मक अभ्यासले दैवी शक्ति इमर्ज हुन्छ र असुरमाथि विजय पाउन सकिन्छ।

अर्को युद्ध हो – बाहिरी। जब समाजमा असुरी शक्ति बलियो हुन्छ, स्वार्थ, अशान्ति र विध्वंस बढ्छ। तर देवगुण भएका व्यक्तिहरुले साधना र संकल्पमार्फत सामूहिक शक्ति इमर्ज गर्न सके भने बाहिरी दुनियाँमा पनि असुरमाथि विजय प्राप्त गर्न सकिन्छ। यही विजय आज सबैभन्दा ठूलो चुनौती बनेको छ।

चुनौती सामना गर्न साधना आवश्यक हुन्छ – चाहे त्यो आत्माभित्रको युद्ध होस् वा बाहिरी युद्ध।

यसैले, विजय दशमीमा लगाइने आध्यात्मिक जमरा पनि रोप्न जरुरी हुन्छ। गहुँ, जौ, मकै जस्ता अन्नबिजनसँगै यदि हामी प्रेम, सत्यता, शान्ति, सहनशीलता, बन्धुत्व, मानवता, सद्भाव जस्ता मानवीय मूल्यहरूको बीउ रोप्न सक्यौं भने समाजमा भाईचारा, शान्ति र अमनचैन बढ्छ।

आफूभित्रको दस टाउके असुर रावणलाई ज्ञान–साधनाको शक्तिले परास्त गरौं। सकारात्मक दैवी उर्जा टिकाइ राखौं। टीका लगाऔं, टीका लगाइदिऔं, र दृढ संकल्पसहित विश्व शान्ति र सुव्यवस्थाको कामना गरौं।


अन्त्यमा, विजय दशमी २०८२ को यस खुशीको अवसरमा स्वदेश र विदेशमा रहनुहुने सबैलाई शान्ति, सुस्वास्थ्य, खुशी र सफल पारिवारिक जीवनको मंगलमय शुभकामना व्यक्त गर्दछु।

शुभेच्छुक
तीर्थराज रिमाल
गैंडाकोट–५