रत्ननगरको डिभाइडरमा जडान गरिएका आधुनिक सडक बत्तीहरूको सफल परीक्षण

२०८२ श्रावण २७ मंगलबार १९:०५:०० मा प्रकाशित

चितवन । रत्ननगर नगरपालिकाले उज्यालो रत्ननगर अभियान अन्तर्गत मुख्य राजमार्ग र बजार क्षेत्रलाई आकर्षक तथा सुरक्षित बनाउन जडान गरिएका आधुनिक सडक बत्तीहरूको सोमबार सफल परीक्षण गरिएको छ ।

नगरप्रमुख प्रलाद सापकोटा, उपमेयर यादवप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल र वडाध्यक्षहरूको उपस्थितिमा निपनी चोकदेखि टाँडी चोकसम्मको डिभाइडरमा जडान गरिएका ७२ वटा पोलमा १४४ वटा सडक बत्तीको परीक्षण गरिएको हो । नगरप्रमुख सापकोटाले यो अभियानमार्फत नगरवासीलाई सुरक्षित र उज्यालो वातावरण प्रदान गर्ने प्रतिबद्धता पूरा गर्न लागिएको बताउनुभयो ।

नगरपालिकाका इन्जिनियर पंकज गिरीका अनुसार, यो परियोजनाको कुल लागत दुई करोड ८६ लाख १८ हजार १ सय ७५ रुपैयाँ रहेको छ। निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न गरी अबको केही दिनमा सबै बत्ती सञ्चालनमा ल्याउने लक्ष्य रहेको इन्जिनियर गिरीको भनाई छ ।