किसान साकोसको एपबाट सदस्यले घरमा उत्पादित सामग्री बेच्न सक्ने

नवलपरासी पूर्व । किसान बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई मोबाइलको एपबाट व्यवसाय प्रवद्र्धन सेवा सुरु गरेको छ । विजनेश डेभलपमेण्ट सर्भिस ( बिडिएस) लाई समेटेर, किसान साकोसले आफ्ना सदस्यहरूको उत्पादन, सीप र सपना प्रविधिको सहायताले बजारमा पु¥याउने बाटो खोलेको छ ।
किसान साकोसको स्थापना ३१ वर्षअघि, २५ जना सदस्यहरू मिलेर गरेको यात्रा आज लाखौँको साझा अभियान बनेको छ । त्यसबेलाका गाउँघरका किसान, साना व्यवसायी र गृहिणीहरूले सुरु गरेको यो संस्था अहिले देशकै उदाहरणीय सहकारीमध्ये एक बनिसकेको छ । समयसँगै सँगै अघि बढ्दै, यो संस्थाले २५ वटा सहकारीलाई समेट्दै सेवा दिएको छ । अहिले किसान साकोसमा करिब १ लाख सदस्य छन्, जसको ४ अर्बको पूँजी र सेवा सञ्जालले यो सहकारीलाई विशिष्ट बनाएको छ । किसान साकोसले एसिया प्रशान्त क्षेत्रको गुणस्तर प्रमाणीकरण संस्था एक्सेस ब्राण्डबाट पाँच पटकसम्म प्रमाणिकरण प्राप्त गरिसकेको छ ।
संस्थाले अहिले गरेको नयाँ प्रयास हो डिजिट बिडिएस । विजनेश डेभलपमेण्ट सभिर्स भन्नाले व्यवसाय विकास सेवा भन्ने बुझिन्छ, जुन सहकारीका सदस्यहरूको सीप अभिवृद्धि, उत्पादनको बजार व्यवस्थापन र उद्यमशीलताको प्रवद्र्धन गर्ने एक प्रकारको सेवा हो । नेपालमा केही संस्थाहरूले बिडिडि अवधारणा ल्याए पनि यो अवधारणालाई मोबाइल एपमार्फत डिजिटल स्वरूपमा प्रस्तुत गर्ने प्रयास पहिलोपटक किसान साकोसले गरेको संस्थाको दाबी रहेको छ ।
अब किसान साकोसका सदस्यहरूले आफ्नो उत्पादन – चाहे त्यो अचार होस्, कपडा, दही, घ्यू वा हस्तकलाको सामान – सोझै मोबाइल एपमा दर्ता गर्न सक्नेछन् । लोकल प्रडक्ट नामको खण्डमा गएर, सदस्यले आफ्नो उत्पादनको नाम, तस्बिर, मूल्य र सम्पर्क विवरण राख्न सक्छन् । अन्य सदस्य वा ग्राहकले यिनै उत्पादनहरू हेरेर, उत्पादकसँग सिधा सम्पर्क गर्न सक्छन ्। सदस्यहरुको उत्पादन किसान साकोसको वेभसाईट मा पनि हेर्न सकिने छ ।
यो सेवा केवल वस्तु बेच्ने माध्यम मात्र होइन, आत्मनिर्भरता र आर्थिक सबलीकरणको प्लेटफर्म हो । विशेष गरी किसान साकोसका २५००० महिला सदस्यहरू र उहाँहरुका परिवारको लागि, जो आफ्ना उत्पादन घरभित्र बनाउँछन् तर बजारमा लैजान सक्दैनन्, यो सेवा उज्यालो बाटो बन्न सक्छ । बजार जान नपुग्नेले अब बजार आफ्नै मोबाइलमा बोलाउन सक्नेछन् ।
किसान साकोसको यो एप केवल बिडिएस लागि मात्र होइन । यसमा मोबाइल बैंकिङ, बैंकबाट रकम ट्रान्सफर, बैंकमा रकम ट्रान्सफर, वालेट लोड, मिसकल बैंकीङ, ईन्टरनेट, टिभि, टेलिफोन, विजुली, पानी, युटिलिटि बिल भुक्तानी, क्युआरमार्फत कारोबार, बीमा जानकारी, रेमिट्यान्स सुविधा, बस बुकिङ, फलाईट बुकिङ तथा अन्य डिजिटल सेवा पनि समेटिएको छ । एपले कारोबार भएपछि विवरण र रकम पढेर आवाजमा जानकारी दिने गरेको छ जस्ले गर्दा कारोबार गर्दा सहजता थपिने संस्थाका अध्यक्ष भोजराज पौडेलले बताउनुभयो । अध्यक्ष पौडेलले डिजिटल बजारीकरणको अवधारणा केवल प्रविधिको प्रयोग नभई, एक नवयुगको सुरुआत भन्नुभएको छ ।
सदस्यहरुलाई उद्यमशिलता तर्फ लैजाने र स्थानिय उत्पादन र खपतलाई दिगो बनाई राष्ट्रिय स्तरमा बजारको पहुँच लैजाने एवं किसान साकोसका हरेक सेवा केन्द्रहरु व्यवसाय प्रवद्र्धन गर्ने युनिटका रुपमा लैजाने योजना रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयराज तिमिल्सिनाले बताउनु भयो ।