अक्सफोर्ड कलेजमा ‘अक्सफोर्ड मेला २०२५’ आजदेखि सुरु

२५ औ बार्षिकोत्सवको अवसरमा २५ विद्यालयसँग शैक्षिक सहकार्य र सम्झौता

२०८२ श्रावण २५ आइतबार १७:२१:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटस्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा आजदेखि ‘अक्सफोर्ड मेला २०२५’ सुरु भएको छ। कलेजको २५औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको मेलाको उद्घाटन शत्रमा बोल्दै पोखरा विश्वविद्यालय व्यवस्थापन विभागका डिन एसोसिएट प्रोफेसर डा. दयाराज ढकालले अक्सफोर्ड कलेज सर्वोत्कृष्ट कलेज रहेको बताउनुभयो । उहाँले कलेजले अध्ययन, अध्यापन सँगै अतिरिक्त क्रियाकलापमा जोड दिने, विद्यार्थीको सर्वाङ्गिण विकासका लागि आवश्यक कार्यक्रम गर्ने भएकाले नै अरुभन्दा फरक र उत्कृष्ट रहेको बताउनुभयो । अक्सफोर्ड कलेजमा ‘अक्सफोर्ड मेला २०२५’ ले विद्यार्थीका हरेक रुची र प्रतिभालाई समट्दै दक्ष बनाउन सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो । 


गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले कलेजले शिक्षामा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै विद्यार्थीहरूलाई यहीँ बसेर अध्ययन गरी देशमै केही गर्न प्रेरित गर्न आग्रह गर्नुभयो। 


गण्डकी प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष अमृत भट्टचनले मेलाले विद्यार्थीहरूको क्षमता विकासमा कोसेढुङ्गा बन्ने बताउँदै, वैदेशिक शिक्षातर्फको बढ्दो प्रवृत्ति रोक्न सरकारलाई नीतिगत पहल गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो।


मध्यबिन्दु क्याम्पसका प्रोफेसर गणेशमान गिरीले अक्सफोर्ड कलेजले अन्य विद्यालयसँग सम्झौता (एमओयू) गरेर आफ्नो छुट्टै पहिचान बनाएको र यसले अक्सफोर्डका असल अभ्यासहरू अन्य विद्यालयसँग बाँड्ने राम्रो काम गरेको बताउनुभयो। 
यस अवसरमा प्रज्ञा एकेडेमीका प्रिन्सीपल कपिल लामिछानेले यो सहकार्यले शिक्षा विकासमा टेवा पु¥याउने बताउनुभयो । 


प्रज्ञा एकेडेमी, मध्यविन्दु बहुमुखी क्याम्पस, वाइज भिजन स्कूल, सेन्ट्रल इङ्लिस स्कुल, नोबेल एकेडमी, सिद्धि विनायक इङलिस स्कुल कालिका ६ चितवन, नेपाल आर्दश शिक्षा सदन,ग्लो साइन एकेडमी, मदरल्याण्ड एकेडमी, ओशन एकेडमी खैरहनी र भ्याली स्टेट विद्यालयसँग अक्सफोर्ड कलेजले एमओयू हस्ताक्षर गरिएको हो।


कलेजका प्राचार्य प्रो. डा. इन्जिनियर हरि भण्डारीले आपसी शैक्षिक सहकार्यसम्बन्धि सम्झौता गरिएको र सम्झौता अनुसार शिक्षक तथा कर्मचारी तालिम सेमिनार र सम्मेलन, विद्यार्थी तालिम, गेस्ट क्लास, प्रयोगशाला तथा स्रोतको साझेदारी, पुस्तकालय तथा अध्ययन स्रोतहरुमा पँहुच हुन बताउनुभयो  । यस बर्ष २५ औ बार्षिकोत्सवको अवसरमा २५ विद्यालयसँग सहकार्य र सम्झौता गरिने समेत बताउनुभयो । 


कलेजका प्राचार्य प्रो. डा. इन्जिनियर हरि भण्डारीले अक्सफोर्ड मेला २०२५ नेपालकै इतिहासमा नयाँ किसिमको कार्यक्रम रहेको उल्लेख गर्दै, केवल उच्च ग्रेड पाउने मात्र नभई विद्यार्थीलाई जीवन कौशल, सामाजिक उत्तरदायित्व र विश्वस्तरको प्रतिस्पर्धी क्षमता विकास गराउने लक्ष्य रहेको बताउनुभयो। 


मेलामा कोड वार, ब्रिज मोडलिङ, सर्किट डिजाइन, बिजनेस पिच प्रतियोगिता, मोकटेल तथा कुकिङ विथआउट फायर, आर्ट तथा पोस्टर डिजाइन, क्विज प्रतियोगिता, पब्लिक स्पिकिङ च्यालेन्ज, प्यानल डिस्कसन, करियर गाइडेन्स सेसन, पब्जी टुर्नामेन्ट, बास्केटबल टुर्नामेन्टसहित १३ वटा कार्यक्रम समावेश छन्।


कार्यक्रममा सहायक प्राचार्य कृष्णहरि पौडेलले कक्षा १२ पास गरेपछि सिपबिना विदेश जानुभन्दा देशमै अध्ययन गर्दै सिप हासिल गर्न र सकेसम्म स्नातक तह सकेर मात्र विदेश जान आग्रह गर्नुभयो।


स्वागत मन्तव्य विसिए विविए प्रमुख सुसान्त तिवारी गर्नुभएको कार्यक्रममा वक्ताहरु अक्सफोर्ड मिट २०२५ का इभेन्ट संयोजक सदस्य सक्षम भट्टराईले लगायतले बोल्नुभएको थियो । उद्घाटन सत्रको कार्यक्रम संचालन कलेजका सहायक प्राचार्य कृष्णहरि पौडेलले गर्नु भएको थियो ।


वि.सं. २०५७ सालदेखि पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरी उच्च शिक्षा क्षेत्रमा प्रवेश गरेको कलेजले हाल स्नातक तहका ६ र स्नातकोत्तर तहको १ कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजले स्थापना कालदेखि नै शैक्षिक उत्कृष्टता कायम राख्दै, डीन लिस्ट, गोल्ड मेडल तथा राष्ट्रियस्तरका उपलब्धिहरू हासिल गर्दै आएको छ।