तीजगीतका संगितमा तीर्थराज

२०८२ श्रावण २८ बुधबार १३:०६:०० मा प्रकाशित

 

काठमाण्डौ । शास्त्रीय संगीतका गहिरा ज्ञाता तीर्थराज पोखरेलले यस वर्षको तीजका लागि मौलिक संस्कृतिको सुगन्ध बोकेका दुई नयाँ गीतमा संगित भर्नुभएको छ ।  रातो सारी र  माइतिको सम्झना शीर्षकका यी गीतमा पोखरेलको संगीत संयोजन रहेको छ । जसले परम्परागत तीजको भावनालाई आधुनिक सुनौलोपनका साथ प्रस्तुत गरेको छ।

भारतको बनारसबाट शास्त्रीय संगीतमा स्नातकोत्तर गर्नुभएका पोखरेलले नेपाल फर्किएपछि पोखराबाट संगीत पाठशालाको सुरुवात गर्नुभएको थियो । हाल उहाँ सांस्कृतिक संस्थानमा गायन शाखाका संयोजकका रूपमा कार्यरत रहनुभएको छ । 

पोखरेलका अनुसार यी गीतहरूमा मौलिक संस्कृतिको भाव संरक्षण र शास्त्रीय संगीतको समिश्रणलाई विशेष प्राथमिकता दिइएको छ। “तीजको लय, नेपाली महिलाको भावनात्मक स्पन्दन र शास्त्रीय संगीतको गहिराई — यी सबैलाई एकै ठाउँमा पस्कन प्रयास गरेको छु,” पोखरेलले बताउनुभयो ।

गीतहरूले सांगीतिक मौलिकतालाई मात्र होइन, हाम्रो सांस्कृतिक पहिचानलाई पनि उजागर गर्ने विश्वास पोखरेलको छ।