बाढी पहिरोका कारण मुख्य ८ सडक पूर्णरुपमा अवरुद्ध, १३९ स्थानमा एकतर्फी सञ्चालन

२०८२ श्रावण २८ बुधबार १३:१०:०० मा प्रकाशित

काठमाडौँ । बाढी पहिरोका कारण देशका मुख्य ८ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै, १३९ स्थानमा सडक एकतर्फी चालू रहेको सडक विभागले जनाएको छ । 


विभागका अनुसार स्याफ्रुबेसीं रसुवागढी सडक चीनतर्फबाट आएको बाढीले क्षति पुग्दा दुई सातादेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । यसअघि गत असार २४ गते भोटेकोसीमा आएको बाढीले सो सडकमा क्षति गरेको थियो । बाढीले क्षति गरेको १३ दिनमा सडक सञ्चालनमा आए पनि रसुवागढी नाका हुँदै चीनसँगको कनेक्सन जोडिन सकेको छैन । कोसी करिडोर अन्तर्गत संखुवासभाको बरुण नदीमा असार २९ गते आएको बाढीले डाइभर्सन बगाउँदा एक महिनादेखि सडक पूर्ण रूपमा अवरुद्ध छ ।

नदीको बहाब घटेपछि मात्रै डाइभर्सन बनाइने जनाइएको छ । उक्त स्थानमा पुल निर्माण भइरहेको छ ।  तमोर करिडोरमा पर्ने ताप्लेजुङको फक्ताङलुङ-५ र ६ जोड्ने रानीपुल बेलीब्रिजमा बाढीले क्षति गर्दा चतरा-मुलघाट अमरापुरडाँडा-गणेश चोक सडक पूर्ण रूपमा अवरुद्ध छ भने सिन्धुपाल्चोकको कोदारीमा साउन १८ गते गएको पहिरोका कारण अरनिको राजमार्ग र भेरी करिडोरअन्तर्गत पश्चिम रुकुमको चौखा रिजगाड, उसुम खोला र छलगाडमा लेदोसहित आएको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध छ । 

 

त्यस्तै, पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत खोटाङको पंखु खोलामा आएको बाढीले क्षति गर्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । यस्तै, बागलुङको तानसेन रिडी कोरला सडक अन्तर्गत कालीखोलामा ठुला चट्टानसहित आएको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध बनेको छ । त्यहाँ पहिरो पन्छाउने कार्य भइरहेको विभागले जनाएको छ ।