भरतपुर–३ मा स्थानीयको श्रमदानबाट डेढ करोडको मन्दिर निर्माण
2025-08-13-12-38-47.jpeg)
भरतपुर । भरतपुर महानगरपालिकामा स्थानीयको श्रमदानबाट डेढ करोडको नमुना मन्दिर निर्माण भएको छ । भरतपुर–३ को विपी शान्ति नगर वन मार्गस्थित पौने दुई कठ्ठा सार्वजनिक जग्गामा स्थानीयले श्रमदानबाटै डेढ करोडको मन्दिर निर्माण गरेका हुन् ।
मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष सुनिता निउरेका अनुसार चौतारी नमुना टोल विकास संस्थाको नजिकै बरपिपल चौतारी रहेको ठाउँमा ऊँ सिद्धेश्वर महादेवको मन्दिर स्थानीयको श्रमदानबाट बनाइएको हो । मन्दिर निर्माणमा हालसम्म चार सय बढी दाताले आर्थिक सहयोग गरेका छन् । दाताको सहयोग र श्रमदानबाट नै मन्दिर निर्माण लगभग पूरा भएको अध्यक्ष निउरेलेको भनाई छ । उहाँले मन्दिरकै आडमा तीन तलाको ज्येष्ठ नागरिक मिलन केन्दको स्थापना गरेको, जसको तेस्रो तलामा पूजारीहरुको आवास रहने, दोस्रो तलामा ज्येष्ठ नागरिकहरु भलाकुसारी गर्नेछन् भने तलको तलामा भजनकीर्तन कार्यक्रम दैनिक गर्ने बताउनुभयो ।
भरतपुर महानगरपालिकाका वडाध्यक्ष विकास थापाले मन्दिर निर्माणमा वडाले पाँच लाख रुपैयाँ सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, वरपिपल रहेको सार्वजनिक जग्गामा मन्दिर निर्माण भएको हो, महानगरपालिका, बागमती प्रदेश सरकारबाट पनि बजेटका लागि पहल गरियो, दुवै ठाउँबाट १०÷१० लाखको दरले बजेट आउने सुनिश्चित पनि भएको छ ।
मन्दिरलाई दीर्घकालीन रुपमा सञ्चालन गर्नका लागि अक्षयकोष स्थापना गरिएको सचिव कृष्ण पुरीले बताउनुभयो । १ सय ९९ जनाले अक्षयकोषमा रकम जम्मा गरेका छन्, झन्डै ३० लाखको अक्षयकोष बनिसकेको छ । प्रत्येक दाताले अक्षयकोषमा ५१ सयका दरले जम्मा गरेका छन् ।
भवन तथा मन्दिर निर्माण समितिका संयोजक विष्णु लोहनीका अनुसार वि.सं १९९६ सालमा स्व. कालिदास खनालले बरपिपल रोपेर करिब दुई कठ्ठा जग्गा सार्वजनिक रुपमा राखेका कारण सोही जग्गामा चौतारी नमुना टोल विकास संस्थाले मन्दिर निर्माण गर्ने निर्णय गरेपछि स्थानीय अघि बढेका हुन् । मन्दिर निर्माणमा एक करोड १० लाख खर्च भइसकेको र अझै ४० लाखको काम हुने लोहनीको भनाई छ ।