टर्कीले बनायो विश्वको पहिलो बहुउद्देश्यीय समुद्री स्किमिङ युएभी ड्रोन

इस्तानबुल । पछिल्ला दुई दशकमा धेरै नयाँ देशहरू देखा परेका छन्, जसले धेरै उन्नत र अत्याधुनिक हतियारहरू निर्माण गरिरहेका छन् । यी हतियारहरूले विश्व बजारमा प्रतिस्पर्धा मात्र गर्दैनन् तर धेरै अवस्थामा अमेरिकी नेतृत्वको पश्चिमी देशहरूको प्राविधिक पक्षलाई पनि चुनौती दिन सुरू गरेका छन् ।
यो परिवर्तनले शीतयुद्ध पछिको विश्वलाई बहु ध्रुवीय हतियार बजारमा परिणत गरेको छ। यी नयाँ हतियार उत्पादन गर्ने देशहरूमा भारत, चीन, पाकिस्तान, इरान, उत्तर कोरिया, जापान र टर्की पर्छन्, जसले आफ्नो सैन्य शक्ति र प्रविधिले निरन्तर विश्वको ध्यान तानिरहेका छन् ।
शीतयुद्धको समयमा सोभियत संघले ‘क्यास्पियन सी मोन्स्टर’ जस्ता अद्भुत समुद्री विमानहरूद्वारा अमेरिका र नाटोलाई चकित पारेको थियो, जसले समुद्री सतहभन्दा कम उचाइमा उडान गरेर राडारलाई छल्न सिपालु थियो ।
हाल टर्कीको नयाँ टयाली ड्रोन उही सिद्धान्तमा आधारित छ तर थप सुधार गरिएको छ। उसले विश्वको पहिलो बहुउद्देश्यीय समुद्री स्किमिङ युएभी हतियार निर्माण गरेको छ ।
टर्कीको सोलिड एरो कम्पनीले विकास गरेको टयालीलाई विश्वको पहिलो सि–स्किमिङ बहुउद्देश्यीय मानवरहित एरियल भेहिकल मानिन्छ ।
यो केवल ३० सेन्टिमिटरको उचाइमा समुन्द्रमा उड्न सक्छ र विङ्ग-इन-ग्राउन्ड (डब्लुआइजी) प्रभाव प्रयोग गर्दछ, जसले यसलाई हावामा थप लिफ्ट र दक्षता दिन्छ। यति कम उचाइमा उडानको कारण यो परम्परागत नौसेना रडारमा लगभग अदृश्य रहन्छ । टयाली ड्रोनको कम्प्याक्ट साइज छ। यसको लम्बाइ ९.१९ फिट र पखेटा ९.८४ फिट छ। यो ३० सेन्टिमिटरदेखि १०० मिटरको उचाइमा उड्न सक्छ र ३० किलोग्राम (६६ पाउण्ड) सम्मको पेलोड बोक्न सक्छ ।
यसमा उन्नत सेन्सर, साना एन्टी शिप हतियार वा निगरानी उपकरणहरू जडान गर्न सकिन्छ । यो पूर्णतया इलेक्ट्रिक इन्जिन र लिपो ब्याट्रीबाट चल्छ । जसको उडान अवधि ३ घण्टा र सञ्चालन दायरा २०० किलोमिटर छ। यसको फोल्ड गर्न मिल्ने पखेटाहरूले यसलाई छिट्टै तैनाथ गर्न सजिलो बनाउँछ ।
टयालीको बारेमा सबैभन्दा विशेष कुरा यसको स्टिल्थ डिजाइन र रडारबाट बच्ने क्षमता हो। यसलाई सामान्य आक्रमण, शीर्ष आक्रमण र हार्बर आक्रमण जस्ता धेरै अपरेशनहरूको लागि प्रयोग गर्न सकिन्छ । यसको एआई संचालित उडान नियन्त्रण प्रणालीको साथमा यो दिन होस् वा रातमा पनि सटीक र द्रुत आक्रमणहरू गर्न सक्षम छ ।
टर्कीको टयाली एक ड्रोन मात्र होइन यो नयाँ सैन्य श्रेणीको सुरुवात हो, जुन नौसेना अपरेशनहरूमा खेल–परिवर्तक साबित हुन सक्छ। यसको प्रविधिले अब अमेरिका, रुस र चीन मात्र होइन, टर्की जस्ता देशले पनि आधुनिक युद्धभूमिमा नेतृत्व लिन सक्ने प्रमाणित गरेको छ । न्युजकारखाना