धारापानी टोल महिला समूहको तेस्रो साधारण सभा सम्पन्न

२०८२ श्रावण १७ शनिबार २१:२६:०० मा प्रकाशित

गैंडाकोट, धारापानी टोल महिला समूहले आफ्नो तेस्रो साधारण सभा सम्पन्न गरेको छ। गैंडाकोट नगरपालिका वडा नम्बर १ स्थित नवदुर्गा आधारभुत विद्यालयको परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष सुरेन्द्र रेग्मी रहनुभएको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले धारापानी टोल विकास संस्थाले टोल विकासका लागि निरन्तर क्रियाशील रहँदै आएको बताउनुभयो। उहाँले धारापानी टोलको क्षेत्रफल ठूलो भएका कारण विकास निर्माणको कार्यलाई थप प्रभावकारी बनाउन टोललाई धारापानी र नवदुर्गा टोलमा विभाजन गरिएको जानकारी दिनुभयो।


धारापानी टोल महिला समूहका अध्यक्ष सरिता अधिकारीले समूहले महिलालाई एकजुट हुन, समुदायका काम गर्न उप्रेरित गरेको बताउनुभयो । 
कार्यक्रममा निवर्तमान वडा अध्यक्ष हरिप्रसाद सापकोटाले आफ्नो कार्यकालमा पनि धारापानी टोल विकास संस्था र महिला समूहसँग सहकार्य गरेर थुप्रै सकारात्मक कामहरू सम्पन्न गरिएको स्मरण गर्दै भविष्यमा पनि निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।


धारापानी टोल विकास संस्थाका अध्यक्ष रामकृष्ण कोइरालाले टोल विकासको अवधारणा अनुसार काम गर्दै आएको संस्थाको प्रयासलाई उल्लेख गर्दै टोलबासीलाई थप सहज बनाउनेतर्फ संस्था अग्रसर रहेको बताउनुभयो। साथै स्थानीय सरकार र वडा कार्यालयसँग निरन्तर समन्वयमा रही काम गरिरहेको धारणा राख्नुभयो।
नवदुर्गा टोलका अध्यक्ष गजेन्द्र लम्सालले सबैसँग सहकार्य र समन्वय गर्दै टोल विकासको कार्य अगाडि बढाइरहेको बताउँदै अझ प्रभावकारी काम गर्न महिला समुहलाई शुभकामना व्यक्त गर्नुभयो।


कार्यक्रममा वडा नं. १ को महिला सञ्जालकी उपाध्यक्ष बसन्ती गौतमले महिलाहरूको सहभागिता सन्तोषजनक रहेको उल्लेख गर्दै महिलाहरू विकासमा निरन्तर अगाडि बढिरहेकोमा खुशी व्यक्त गर्नुभयो।
तेस्रोे साधारण सभामा संस्था प्रगति प्रतिवेदन सचिव दुर्गादेवी पौडेलले प्रस्तुत गर्नुभएको थियो । आर्थिक प्रतिवेदन कोषाध्यक्ष जीवनकुमारी कुमालले प्रस्तुत गर्नुभएको थियो । 


कार्यक्रममा विभिन्न स्थानीय प्रतिनिधिहरू, टोलबासी र सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सो कार्यक्रममा धारापानी महिला समुहका संस्थापक अध्यक्ष लक्ष्मी सापकोटालाई सम्मान गरिएको थियो ।