भीमबहादुर अधिकारी स्मृति ग्रन्थमाथि शनिबार चर्चा कार्यक्रम सम्पन्न

जेष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको आयोजनामा समाजसेवा शिरोमणि भीमबहादुर अधिकारीको स्मृति ग्रन्थमाथि चर्चा परिचर्चा भएको छ । शनिबार होटल द नारायणी कालिगण्डकी चोकमा भएको कार्यक्रममा बोल्दै सहभागिले गृहस्थ सन्त, प्रज्ञा, श्रमशीलता, सदाचार र उच्च विचारका उपासक गण्डकी गौरव स्व.भीमबहादुर अधिकारीको कर्म र जीवनीले समाजप्रति हरेक व्यक्तिलाई कर्तव्यनिष्ठ बन्न प्रेरणा दिने बताएका थिए । आफु र आफ्नो मात्र नभनी नहुने, नसक्नेका लागि पनि आफुले सक्दो सहयोग गर्नुपर्ने प्रेरणा उहाँको जीवनीबाट सबैले सिक्ने बताएका थिए ।
उच्च विचारका उपासक गण्डकी गौरव स्व.भीमबहादुर अधिकारी समाजसेवामा समर्पित व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले अर्थ मन्त्रालयमा अर्थ नियन्त्रकको जिम्मेवारी सम्हाल्दै तनहुँ, दमौलीमा गाउँसेवा कोष स्थापना गरी जेहेन्दार विद्यार्थीहरूको शिक्षाका लागि पहल गर्नुभएको थियो। साथै, उहाँले विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रमा समेत उल्लेखनीय योगदान दिनुभएको थियो।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले स्व. भीमबहादुर अधिकारीले समाजमा गरेका सामाजिक काम, बृद्धभत्ता दिने अवधारणा र अन्य योगदानको प्रशंसा गर्दै अन्य व्यक्तिले उहाँको जीवनबाट धेरै कुरा अनुशरण गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो । साथै उहाँले समाजमा योगदान पु¥याएका हरेक व्यक्तित्वको साधारण जीवनशैली र कामलाई पछ्याउन आवश्यक रहेको समेत बताउनुभयो ।
ज्येष्ठ नागरिक प्रतिष्ठानका अध्यक्ष डिल्ली प्रसाद सिग्देलले उहाँको काम र जीवनीले सबैमाझ उहाँ सदैब स्मरणीय बनेको बताउनुभयो । उहाँको जीवनीबाट इमान्दारिता र श्रमको सम्मान सँगै समाजलाई बुझ्ने कला सिक्न सकिने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारी, डा. विष्णु बहादुर भण्डारी, राष्ट्रिय युवा कोषका सदस्य सचिव ललिता श्रेष्ठ, बालकुमारी कलेजका पूर्व क्यापस चिफ चिरञ्जीवि श्रेष्ठ, साहित्यीक व्यक्तित्व, शैक्षिक व्यक्तित्व समाजसेवी लगायतको सो कार्यक्रममा उपस्थिती रहेको थियो ।