स्पेन पठाउने गिरोहमाथि अनुसन्धान गर्न गृहमन्त्री लेखकको निर्देशन

२०८२ असार ३० सोमबार १४:४४:०० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा पठाउने गिरोहमाथि अनुसन्धान गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्। सोमबार बिहान गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई गिरोहका बारेमा अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा अन्य नेपालीलाई पनि लगिएको र उनीहरू नफर्किएको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आरोप लगाएकी छन् । उनले स्पेन जान भन्दै बाटो लागेका र नफर्किएका व्यक्तिहरू भन्दै ५५ जनाको  नाम सूची र केही कागजात समेत मिडिया मार्फत सार्वजनिक गराएकी थिइन् ।

त्यस विषयमा समेत अनुसन्धान गर्न गृहमन्त्री लेखकले  निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ। ‘प्रधानमन्त्रीको टोली बाहेकका व्यक्तिहरू स्पेनको कार्यक्रममा सहभागी भएका हुन् कि होइनन् ? को को कसरी गए ? र उनीहरूले भिसालगायतका प्रक्रियाको मार्फत कसरी मिलाए ? यी विषयमा अनुसन्धान गर्न भनिएको छ’, गृहमन्त्री लेखकको सचिवालयले भनेको छ।

अब यो विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र मानव बेचविखन अनुसन्धान ब्युरोले अनुसन्धान गर्ने भएका छन् ।