मध्यराति भिनाजुले गोली हानेर गरे १७ वर्षीया सालीको हत्या, आरोपी फरार

सुनसरीमा भिनाजुले गोली हानेर सालीको हत्या गरेका छन् । हरिनगर गाउँपालिका–६ घर भएकी १७ वर्षीया अर्जना खातनुको गएराति आफ्नै भिनाजुले गोली हानी हत्या गरेका प्रहरीले जनाएको छ । भारतको अररिया घर भएका ३५ वर्षीय आजात मियाँले साली अर्चनाको गोली हानी हत्या गरेका सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताए । मियाँको पृष्ठभूमी नै आपराधिक खालको भएकोसमेत प्रहरीले जनाएको छ । ‘के कारणले उनले सालीलाई गोली हाने भन्ने अनुसन्धान भइरहेको छ,’ एसपी तिमल्सिनाले भने ।
घरमा मृतक खातुन र उनकी बहिनी मात्रै बस्दै आएका थिए । भारतको अररीया जिल्ला घर भएका भिनाजु रातिराति मात्रै सालीहरु भएको ठाउँमा आउने गरेको र हिजो पनि राति आएर उनले सालीलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ । १७ वर्षीया अर्चना खातुनलाई पछाडिबाट गोली हान्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी तिम्सिनाले बताए । ‘आजाद मियाँ आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । उनीविरुद्ध भारतमा पनि चोरीलगायतका कैयौं अपराधमा संलग्न भएको अभियोग छ । भारतीय प्रहरीले समेत खोजी कार्य गरिरहेका उनी नेपालमा लुकीछिपी बसेको पाएका छौँ,’ एसपी तिमल्सिनाले भने ।
घटनापछि शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पठाइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान गरिरहेको जनाएको छ । घटना अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको नेतृत्वमा प्रहरी टोली खटिएको छ । हत्यामा संलग्न मियाँ फरार छन् । भारतको सुपौल र सुनसरीको हरिनगर नाकासहित सीमावर्ती क्षेत्रमा मियाँको खोजतलास र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ ।