नेपाल  शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी

२०८२ असार ३० सोमबार ११:३२:०० मा प्रकाशित


नवलपरासी पूर्व । नेपाल  शिक्षक महासंघ संघीय कार्यसमितिले आज एक विज्ञप्ती प्रकाशन गरी विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत गर्न ढिला सुस्ती भएकोमा गम्भिर ध्यानाकर्षण भएको  जनाउँदै आन्दोलनको चेतावनी दिएको छ । 


विद्यालय, विद्यार्थी र शिक्षक कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गरियोस् भन्ने माग शिक्षक, विद्यार्थी र अभिभावकको रहेको नेपाल शिक्षक महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ । 


८९ दिनको सभ्य, अनुशासित र मर्यादित आन्दोलन र २९ दिने काठमाण्डौ केन्द्रित आन्दोलनको बलमा नेपाल सरकार र नेपाल शिक्षक  महासंघ बिच असार  १५ भित्र विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्ने सहमती भएको थियो तर विधेयक प्रतिनिधि सभामा पेश हुन पनि सकेको छैन । यसले अझै गम्भिर बनाएको छ ।

सहमती भएका विषय भन्दा बाहिर गएर सरकारले देखाएको व्यवहार, उपसमितिबाट आएको निर्णय र समिति भएका छलफल र उठाइएका विषयवस्तु हेर्दा चैत्र बैशाखको शिक्षक कर्मचारीको गौरवशाली आन्दोलन सरकारले बिर्सिएको प्रतित भएको विज्ञप्तीमा उल्लेख गरिएको छ  ।


शिक्षा स्वास्थ्य  तथा सूचना प्रविधि समितिमा भएको छलफल ,निर्णयबाट विगतका सहमती बङ्ग्याउने, तोडमोड गर्ने तथा आम शिक्षक कर्मचारीको  भावना, शिक्षण पेशाको मर्यादा, र सवलीकरण विपरितका प्रबन्धहरु अगाडी बढाउने कार्यभएकोमा नेपाल शिक्षक महासंघले आफ्नो विज्ञप्तीमा गम्भिर  ध्यानाकर्षण भएको जनाएको छ । त्यसैले नेपाल शिक्षक महासंघ नयाँ र अझै कडा आन्दोलनमा  जानुपर्ने मोडमा पुगेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 


शिक्षा विधेयकको छलफल यथातीशीर्घ शुरु गरी विगतका सहमती अनुरुप अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा प्रस्तुत गरी पारित गराउन महासंघले गम्भिर ध्यानाकर्षण गराएको छ ।

समयमा राज्य सचेत नहुँदा आक्रोश र अविश्वासले असहज परिस्थिति आउन सक्ने र आन्दोलनको मोड आउन सक्ने हुँदा राज्य पक्षलाई गम्भिर हुन नेपाल शिक्षक महासंघका  अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्ती मार्फत महासंघले ध्यानाकर्षण गराएको छ ।