गैँडाकोट नगरपालिकाले गर्यो विनियोजित बजेटको ८६ प्रतिशत खर्च, पारदर्शिता र कार्यक्षमतामा उदाहरणीय प्रगति

गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कुल १ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा करिब ९३ करोड रुपैयाँ खर्च गरी कुल बजेट खर्चको ८६ प्रतिशतको उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालका अनुसार चालुतर्फको ६१ प्रतिशत बजेटमध्ये ८९.८३ प्रतिशत र ३९ प्रतिशत पुँजीगत बजेटमध्ये ८२ प्रतिशत खर्च गरिएको छ। यसले नगरपालिकाको कार्यक्षमता, पारदर्शिता र परिणाममुखी नेतृत्वलाई अझ प्रस्ट पारेको छ।
गैँडाकोटले आन्तरिक आम्दानी संकलनतर्फ पनि उल्लेखनीय प्रगति गरेको छ। नदीजन्य पदार्थबाट मात्र करिब ७ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ, जसलाई आगामी वर्षहरूमा थप बढाउने लक्ष्य रहेको छ।
नगरपालिकाको सक्रिय नेतृत्व, अनुगमन, प्रशासनिक चुस्ती र जनसहभागितामा जोडले गर्दा योजनाहरू समयमा कार्यान्वयन हुनुका साथै पारदर्शिता र संस्थागत समन्वयमा गुणात्मक सुधार आएको छ। खर्च विवरणलाई समयमै सार्वजनिक गर्ने, उपभोक्ता समितिसँग सहकार्य बढाउने र सरोकारवालाको सहभागिता सुनिश्चित गर्ने अभ्यासले गैँडाकोटलाई उदाहरणीय स्थानीय तहको रूपमा स्थापित गरेको छ।
नगरपालिकाले विकास साझेदार, उपभोक्ता समिति, संघसंस्था, निर्माण व्यवसायी, सञ्चारकर्मी तथा नागरिक समाजप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्य र समर्थनको अपेक्षा राखेको छ।
गैँडाकोटको अनुभव र अभ्यास अन्य नगरपालिका र गाउँपालिकाका लागि पनि सिकाइको स्रोत बन्ने विश्वास गरिएको छ। समयमै योजना कार्यान्वयन र पारदर्शी प्रशासनमार्फत जनताको विश्वास जित्ने काममा नगरपालिकाले आफ्नो भूमिका मजबुत बनाउँदै गएको छ।