नन्दन सामुदायिक वनका समिति तथा उपसमितिको क्षमता विकास तालिमको शुभारम्भ

गैंडाकोट । गैंडाकोट नगरपालिको वडा नं. ६, ८ र ९ मा रहेको नन्दन सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा नन्दन सामुदायिक वनको उपभोक्ता समुह कार्यालयको सभाहलमा दुई दिने तालिम सुरु भएको छ । तालिममा समिति र उपसमितिको ऐन नियम सँग सम्बन्धित रहेर प्रशासनिक चुस्तता ल्याउन क्षमता विकासमा तालिमले सहयोग पुर्याउने बताउनुभयो ।
कार्यक्रममा अध्यक्षता नन्दन सामुदायिक वनको अध्यक्ष हरिमाया अधिकारीले गर्नुभएको थियो । उहाँले यस तालिमबाट वन समिति र उपसमितिहरुको काम, कर्तव्य र अधिकार को बारेमा राम्रो ज्ञान हुने तथा जिम्मेवारी निभाउन सहज हुने बताउनुभयो ।
तालिम प्रमुख प्रशिक्षकका रुपमा सब डिभिजन कार्यालय गैंडाकोटका फरेस्टर दिनेश केसीले समुहले विभिन्न तालिम दिदै आइरहेकोमा यस्ता तालिमले अझ कार्यसमितिहरुको काम र कर्तव्य प्रति जिम्मेवार बनाउने बताउनुभयो। त्यस्तै गरी प्रशिक्षकका रुपमा ग्रिन फाउन्डेसन नवलपुरका अध्यक्ष ठाकुर प्रसाद पाण्डे र नेपाल वन पैदवार उद्योग व्यवासय संघ नवलपुरका व्यवस्थापक खेमनारायण महतो रहनु भएको थियो ।
तालिममा समुहका अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र समितिका सदस्यहरुको उपस्थिति रहेको थियो भने कार्याक्रमको सहजिकरण समुहका सचिव कमला शर्माले गर्नुभएको थियो ।