औषधि व्यवसायी संघ नवलपुरले ह्विलचियर तथा स्टेचर वितरण गर्यो

नवलपरासी पूर्व । नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा नवलपुरले ह्विलचियर तथा स्टेचर वितरण गरेको छ।
संघको ५२ औं स्थापना दिवसको अवसरमा मंगलबार जिल्ला प्रशासन कार्यालय नवलपुरलाई प्रशासनमा सेवा लिन आउने अशक्त सेवाग्राहीहरूलाई सजिलो होस भनेर ह्विलचियर र जिल्ला ट्राफिक कार्यालय नवलपुरलाई विपदको बेला उद्धारको लागि सहज होस भनेर स्टेचर वितरण गरिएको छ।
प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले व्यवसाय गरेपछि मुनाफा हुने स्वाभाविकै हो तर सामाजिक उत्तरदायित्व अन्तर्गत मुनाफाको केहि प्रतिशत सामाजिक सेवा गर्नुपर्छ भनेर ह्विलचियर प्रदान गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नुभयो। सामाजिक उत्तरदायित्वको कामले आगामी दिनमा पनि निरन्तरता पाउनु पर्छ प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नुभयो।
प्रदेश सदस्य एवं संस्थापक उपाध्यक्ष जिवनराज सापकोटाले राष्ट्रको विभिन्न किसिमका आवश्यकताहरू,व्यावसायिक आवश्यकता, पेशागत आवश्यकता,समाजको आवश्यकता पूरा गर्ने क्षेत्रको रुपमा काम गर्दै राष्ट्रको आर्थिक पक्षमा औषधि व्यवसायीको भूमिका रहँदै आएको बताउनु भयो । औषधि व्यवसायीहरु मर्यादित पेशामा रहेकोले सामाजिक काम प्रति रुचि हुन्छ तेसैले प्रशासनमा आउने सेवाग्राहीहरू जो बृद्ध, अपांग र अशक्तहरूको लागि सहज होस भनेर ह्विलचियर वितरण गरिएको र विपतका समयमा आइपर्न सक्ने प्राथमिक उपचार र उद्धारका लागि स्टेचर पनि वितरण गरिएको सापकोटाले बताउनु भयो ।
नवलपुर औषधि व्यवसायी संघका महासचिव इश्वरी प्रसाद घिमिरेले संघले सामाजिक उत्तरदायित्व अन्तरगत नवलपुरका हरेक पालिकामा कार्यक्रमहरू निरन्तर गरिरहेको बताउनुभयो। संघको ५२ औ स्थापना दिवसको अवसर पारेर संस्थाले गर्ने वार्षिक कार्यक्रम अन्तर्गत नै ह्विलचियर तथा स्टेचर बितरण कार्यक्रम गरेका हौँ र यस्ता कार्यक्रमहरु संस्थाले निरन्तर रुपमा गर्दै जाने बताउनुभयो । महासचिव घिमिरेले भन्नुभयो “औषधि व्यवसायीहरूले मानवीय सेवामा चौबिसै घण्टा जसो काम गरिरहेका हुन्छन् तर आज हाम्रो लागि स्थापना दिवस विशेष दिन हो।”
नवलपुर औषधि व्यवसायी संघका अध्यक्ष विष्णु कँडेलले व्यवसायीहरूको लागि आज एकदमै खुसीको दिन हो।जिल्ला प्रशासनमा सेवा लिन आउने सेवाग्राहिमा मानवीय समस्या देखिएको छ त्यो कुरामा थोरै भएपनि हातेमालो गर्न सक्छौं कि भनेर ह्विलचियर वितरण गरिएको बताउनु भयो। त्यस्तै जिल्ला ट्राफिक कार्यालय नवलपुरलाई दुर्घटना, दैवी प्रकोप परेकोे अवस्थामा आकस्मिक रुपमा सेवा पुर्याउन सहज हुने हुदा स्टेचर वितरण गरेर स्थापना दिवसको खुसी साटेको अध्यक्ष कँडेलले बताउनुभयो। कँडेलले भन्नुभयो “मानव जीवनलाई प्रत्यक्ष सरोकार राख्ने विभिन्न तह तप्कामा हामीले सेवाका भावहरूले काम गरिरहेका छौं।”
कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ नवलपुरका सचिव जीवन पैाडेल, कोषाध्यक्ष पशुपति भुसाल, उपकोषाध्यक्ष डि वि कुमाल ,खुद्रातर्फका उपाध्यक्ष सुर्य सुवेदी, खुद्रा तर्फका उपाध्यक्ष ओम वहादुर महतो, सदस्य नारायण घिमिरे, शेर वहादुर मल्ल, झम्कनाथ सुवेदी ,शोमनाथ शर्मा , निरज सापकोटा, ब्यवसायी सदस्य राम वहादुर बोहोरा कार्यसमिति सदस्य लगायत सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
अनौपचारिक कार्यक्रमको सहजीकरण संघका महासचिव इश्वरी प्रसाद घिमिरेले गर्नुभएको थियो। नेपालका औषधि व्यवसायीहरू एकत्रित भएर आजभन्दा ५२ वर्ष अगाडि संस्थाको स्थापना गरेका थिए ।