गैँडाकोट नगरपालिकाको बजेट १ अर्ब ८ करोड

नवलपरासी पूर्व । गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ८ करोड ७२ लाख ४४ हजार बजेट सार्वजनिक गरेको छ । शुक्रबार १७ औँ नगरसभाबाट गैँडाकोट नगरपालिकाले चालु खर्च तर्फ ६३ करोड ३१ लख ४६ हजार र पूँजीगत खर्च तर्फ ४५ करोड ४० लाख ९८ हजार रकम विनियोजन गरेको छ । चालु खर्च ५८ दशमलब २३ प्रतिशत हो भने विकास खर्च ४१ दशमलब ७७ प्रतिशत रहेको छ ।
आगामी आर्थिक वर्षमा सञ्चित कोष र अन्य स्रोतहरुबाट ५ करोड ५० लाख, आन्तरिक राजश्वबाट २७ करोड ८६ लाख, संघ र प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँडबाट १६ करोड ६१ लाख ७१ ह्जार, अन्तरसरकारी वित्तीय हस्तान्तरण र अन्तर सरकारी अख्तियारीबाट ५८ करोड ७४ लाख ६३ हजार प्राप्त हुने जनाइएको छ ।
गैँडाकोट नगरपालिकाले सबै वडा जोड्ने रिंगरोड अवधारणाका लागि १ करोड ९३ लाख, नगरको गौरवको आयोजना मानिएको गैँडाकोट १०–१७ को मेसजालीका लागि १ करोड, वडाकार्यालय निर्माणका लागि ४ करोड ५० लाख, बेल्डीया झराही जयश्री खोला तटबन्धनका लागि १ करोड ४७ लाख, अधुरा नगरस्तरीय योजनाको पूर्णताका लागि ५ करोड ८ लाख, आकस्मीक योजनाका लागि १ करोड, आधारभूत अस्पतालको स्तरोन्नतीकालागि ३ करोड बजेट विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको रकम मध्ये चालु खर्च तर्फ ६९.४८ प्रतिशत खर्च भएको छ भने पूँजीगत तर्फ ४२.६० प्रतिशत खर्च भएको छ ।