गैंडाकोटमा अन्तर वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

२०८२ असार २ सोमबार १४:०८:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोटमा अन्तर वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद भन्ने मूल नाराका साथ गैंडाकोट नगर खेलकुद विकास समितिको आयोजनामा आइतबार प्राप्तिका कबडहल गैंडाकोटमा सुरु भएको हो। 

ब्यानर पढेर उद्घाटन भएको कार्यक्रममा गैंडाकोट नगरपालिकाकि उपप्रमुख शान्ति कोइरालाले नगर खेलकुद विकास समिति गठन भएपछि सबै खेलकुदलाई सबै ठाउँबाट प्रतिनिधित्व गरेर सबैलाई नगरपालिकाको अपनत्व हुने गरी खेल विभाजन गरेर खेल भइरहेको बताउनुभयो। नगर उपप्रमुख कोइरालाले खेलकुदका विधा पनि थपिएर आजबाट ब्याडमिन्टन खेल सुरु भएको छ खेलको सफलताको शुभकामना व्यक्त गर्नुभयो ! युवाहरूले खेलबाट अगाडि बढ्दै नगरपालिकाको इज्जत प्रतिष्ठा राख्दै प्रदेशदेखि केन्द्रसम्म खेल्नुहुनेछ र आगामी दिनमा नगरले खेलकुदलाई  प्रभावकारी बनाउने गरी काम गरिरहेको बताउनुभयो ।

गैंडाकोट नगरपालिका वार्ड नं १ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीले विभिन्न किसिमका इन्डोर र आउटडोर खेलहरूका लागि पनि गैडाकोट नगरपालिकाको तर्फबाट अझ विशेष कदमी चाल्न पर्ने आबश्यकरहेको बताउनु भयो।  नगरले बजेट विनियोजन गरेपनि प्रदेश सरकारबाट जति आउनुपर्ने हो त्यो रकम पनि आएको छैन र संघीय सरकारको तर्फबाट अन्तर्राष्ट्रिय खेलकुद ग्राम भनेपनि यो नारामा मात्र सीमित भएको छ। अन्तर्राष्ट्रिय खेलकुद मैदानलाई छोडेर गैडाकोट ३,४ र ८ मा रहेको क्षेत्रीय रङ्गशालालाई व्यवस्थित गर्ने हो भने तत्काललाई खेलकुद्को लागि पुग्ने बताउनुभयो ।

मौलाकालिका ब्याडमिन्टन क्लबका अध्यक्ष नारायण काफ्लेले ब्याडमिन्टन खेल अरु खेलभन्दा फरक खालको खेल हो।नगर खेलकुद विकास समितिले यो प्राप्तिका कबडहलमा ब्याडमिन्टन खेल प्रतियोगिता राखेकोमा धन्यवाद व्यक्त गर्नुभयो।  अध्यक्ष काफ्लेले फुटबल भलिबल क्रिकेट जस्ता खेलमा निश्चित उमेरमा मात्र खेलिन्छ भने ब्याडमिन्टन ७० वर्ष उमेरसम्म सहजै खेल्न सकिने  भएकोले यो कबडहलमा १४ वर्षदेखि ७० वर्षका खेलाडीहरूले बिहान र बेलुका गरी ६०/६५ जना दैनिक जसो ब्याडमिन्टन खेल्ने बताउनुभयो।

प्रतियोगिताको मुख्य रेफ्रीमा खुशबहादुर गुरुङ, बलबहादुर श्रीष मगर ,भूपेन्द्र वीर थापा रहनुभएको छ भने जिल्ला रेफ्रीहरू पुरुषोत्तम गौडेल, लोकबहादुर श्रेष्ठ र कुशल रहनुभएको प्रतियोगिताको संयोजक एवं नगर खेलकुद विकास समितिका सदस्य रोशन दर्लामी मगरले जानकारी दिनुभयो।

गैंडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य नगर उपाध्यक्ष लक्ष्मण कार्कीले गर्नुभएको थियो।

कार्यक्रमको सहजीकरण नगर खेलकुद विकास समितिका सदस्य सचिव रामप्रसाद अधिकारीले गर्नुभएको हो।

ताजा खबर