असल संस्कार कक्षाका बालबालिकाको सचेतना

नवलपरासी पूर्व । गैँडाकोट वाड नं १ आदर्श टोल मन्दिर क्षेत्रमा सञ्चालनमा आएको बालमैत्री असल संस्कार कक्षा २ वर्ष पुरा हुन लागेको छ । प्रत्येक शनिबार २ घण्टा सञ्चालन हुने कक्षाका बालबालिकाले शनिबार सचेतना ¥याली निकालेका छन् । उनिहरुले असल भए सफल भइन्छ, असल भए सबल भइन्छ लगायतका नारा लगाएर गैँडाकोट १ को विकास चोक, शिलन्यास चोक, मिलनचोक, मौलाकाली फेदी हुँदै श्रीवैष्णवपरिषद्को हलमा रहेको कक्षासम्म पुगेका थिए । समाजमा असल संस्कार स्थापना गर्न आवश्यक रहेको र त्यस माथि पनि बालबालिकाहरुलाई असल अभ्यास र संस्कार सिकाउन अपरिहार्य रहेको श्रीमद्भागवाद वाचिका यशोदा आमाजीले बताउनुभएको छ ।
बालमैत्री कक्षामा नियमित सहभागि हुने कृति लम्सालले बालमैत्री कक्षाले आफ्नो आनिबानी सुधार र समय व्यवस्थापनका साथै संस्कृत भाषा शिक्षणमा सहयोग पुगेको बताउनुभयो । यस्तै नियमित सहभागि हुने सुदांशु सिग्देलले आफ्नो आचारण, भजनकिर्तन गर्न सिकिरहेको बताउनुभयो । बालमैत्री कक्षामा हुने ध्यान र योगाले स्मरणशक्ति समेत बृद्धि भएको महशुस गरेको बताउनुभयो ।
अभिभावक अञ्जु घिमिरेले असल संस्कारमा छोरीलाई नियमित पठाउनुहुन्छ । सत्य बोल्नुपर्दछ, अतिथिको आतिथ्यताका गर्ने सन्दर्भमा छोरीमा धेरै परिवर्तन आएको बताउनुहुन्छ । यस्तै अभिभावक गुरुप्रसाद सापकोटाले बालमैत्री कक्षामा नियमित आउने छोरामा परिपक्वता बढेको बताउनुभयो ।
यस्तै अभिभावक ज्योती खरेलले आफ्ना दुबै छोरीलाई असल संस्कार कक्षामा पठाउनुहुन्छ । छोरीहरुले विहानको समय व्यवस्थापनका साथै संस्कारयुक्त क्रियाकलापमा सुधार आएको बताउनुहुन्छ ।
गैँडाकोटमा बालबालिकामा असल संस्कार र नैतिक ज्ञान सिकाउनका लागि असल संस्कार कक्षा सञ्चालन गरिएको थियो । पछिल्लो समयमा समाजमा विकृति र विसंगति बढ्दै गएको जनाउँदै बालबालिकालाई राम्रो ज्ञान सिकाउने उद्देश्यले गैँडाकोट नगरपालिका–१ मा रहेको श्रीवैष्णव परिषद्को भवनमा कक्षा सञ्चालन गरिएको हो । असल संस्कार कक्षामा दैनिक जीवनमा आवश्यक हुने नैतिक ज्ञान र संस्कारका कुरा सिकाउने गरिएको श्रीमद्भागवाद वाचिका यशोदा आमाजीले बताउनुभएको छ ।
असर संस्कार कक्षामा ५० भन्दा बढी बालबालिका हरेक हप्ताको शनिबार उपस्थित भएर ज्ञानगुनका कुरा सिक्ने गरेका छन् । कक्षामा बालबालिकाको रुचिअनुसार प्रविधिको प्रयोगमार्फत असल संस्कार योग, ध्यान, प्राणायाम, व्यवहार कुशल सीप, आचरण सिकाउने गरिन्छ ।