गैँडाकोट ५ को वडा बाल सञ्जाल अध्यक्षमा संसार अधिकारी चयन

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं ५ को वडा कार्यालयको आयोजनामा बाल क्लबका पदाधिकारीहरुका लागि अभिमुखीकरण तथा वडा स्तरीय बाल सञ्जाल गठन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गैँडाकोट ५ का १९ वटा टोल स्तरीय बाल क्लब र ३ वटा विद्यालयका बाल क्लबका १५० जना बालबालिकाहरुको सहभागीता रहेको थियो ।
अभिमुखीकरण कार्यक्रममा गैँडाकोट वडा नं ५ का वडाअध्यक्ष रत्नप्रसाद सापकोटाले बाल क्लबमा रहनुहुने बालबालिकाको नेतृत्व क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको कुरा बताउनुभयो । वडा नं ५ लाई बालमैत्री वडा घोषणाको चरणमा रहेकाले बाल क्लबहरुको महत्वपुर्ण भूमिका रहने वडा अध्यक्ष सापकोटाले बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा बालसंरक्षक समिति गैँडाकोटका सदस्य बालमैत्री अभियन्ता जगन्नाथ उपाध्यायले बाल क्लब र बाल सञ्जालको उद्देश्य, पदाधिकारीहरुको काम, कर्तव्य ,अधिकार, र बालमैत्री स्थानीय शासनका बारेमा सहजीकरण गर्नुभएको थियो ।
बालबालिकाहरुको भेलाले आदर्श सरस्वती बाल क्लबका प्रतिनिधी संसार अधिकारीको अध्यक्षतामा वडा नं ५ को वडा बाल सञ्जालको नयाँ कार्यसमिति पुर्न गठन गरेको छ । समितिको उपाध्यक्षमा सम्मर गौतम, सचिवमा कल्पित शर्मा, कोषाध्यक्षमा साम्भवी खरेल, सह सचिवमा आर्दश घिमिरे, सदस्यहरुमा अंकित पौडेल, संयोग पौडेल, शिक्षा आचार्य, राजन ढकाल, मैनशी श्रेष्ठ, स्वेच्छा श्रेष्ठ, अलिया ज्ञावली, सिम्रन अधिकारी र विरा शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
कार्यक्रम वडा नं ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । नगर कार्यपालिका सदस्य एवं वडा सदस्य शान्ति न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख सिता लामिछाने पौडेलले गर्नुभएको थियो ।