कर्म गर्दै गर्दा भक्तिमार्ग छोड्न हुदैनः स्वामी आचार्य जगन्नाथ शर्मा कँडेल
पठन संस्कृति अभियानको १४औं श्रृखला

परिवर्तन हुने नाममा आफ्नो अस्तित्वलाई भुल्न नहुने सम्पूर्णानन्द संस्कृति विश्वविद्यालय बनारस भारतका नेपाली विभाग प्रमुख स्वामी आचार्य जगन्नाथ शर्मा कँडेलले बताउनुभएको छ। पठन संस्कृति अभियानको १४औं श्रृखलामा बोल्दै उहाँले धर्म र जीवनसँग सम्बन्धित मानवताको चरित्रलाई बदल्न नहुने बताउनुभएको हो । मानिसले कर्म, ज्ञान र भक्तिलाई एकैसाथ अगाडि बढाउनुपर्ने पनि उहाँको भनाई रहेको छ।
कर्म गर्दै गर्दा भक्तिमार्ग छोड्न नहुने र ज्ञान मार्ग पुगेकालाई पनि भक्ति मार्गमा जान आवश्यक रहेको उहाँले बताउनुभएको छ । साथै उहाँले भगवत नै भक्ति मार्ग रहेको बताउनुभयो । त्यस्तै गरेर उहाँले कर्म, ज्ञान र भक्तिको जिम्मेवारी मानिसले लिनुपर्ने र सो का लागि पठन संस्कृति जस्तै अभियानले मार्ग दर्शन गर्ने उहाँको भनाई छ । मानिसको प्रकृति नै कर्म गर्ने र भक्तिको मार्गमा रहेर आफूलाई आफ्नै अवस्थामा फर्काउने रहेको पनि उहाँले बताउनुभयो । त्यस्तै गरेर उहाँले साना कुराले ठूलो परिवर्तन ल्याउने हुँदा पनि मानिसले आफूलाई सोही अनुरुप विकास गर्न आवश्यक भएको समेत बताउनुभएको छ ।
यस्तै गरेर कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ गैँडाकोट गैंडाकोटका प्रतिनिधि नवीन कृष्णदासले ज्ञानलाई विज्ञानमा परिणत गरेर जीवनमा उतार्नु आवश्यक रहेको बताउनुभएको थियो।
विजय एफएम १०१ दशमलव ६ का स्टेसन म्यानेजर श्रीधर उपाध्यायले मध्यबिन्दु नगरपालिकाको खुसी पाठ्यक्रमभित्रको थोरै पक्षलाई आफ्नो दुई दिनका अनुभवका आधारमा प्रस्तुत गर्नुभएको थियो। बालबालिकालाई सहयोग गर्न, सम्मान गर्न र आफ्ना सपनाहरू पूरा गर्न अभिभावकले सिकाउनुपर्ने उहाँले आफ्नो भनाइ राख्दै बताउनुभएको थियो।
व्यक्तिको क्षणिक खुसी र उसको परिवार र समाजवादका कुराहरूमा आजका बालबालिकाहरूलाई बुझाउन आवश्यक रहेको पनि उहाँले बताउनुभएको थियो।
यस्तै नारायण प्रसाद तिवारीले आफ्ना अनुभवहरू राख्नुभएको थियो । भगवत गीता र त्यससँग सम्बन्धित रहेका विभिन्न विषयमा उहाँले जिज्ञासा समेत राख्नुभएको थियो।
यस्तै गरेर संसार सापकोटाले आफूले बाग्लुङको बिहुँ घुम्न गएको त्यहाँको अनुभव र वातावरणको बारेमा जानकारी गराउनुभएको थियो। यस्तै ११ वर्षीय परित्रणा पौडेलले जीवनसँग सम्बन्धित आफ्नो कविता वाचन गरेर सुनाउनुभएको थियो।
मायादेवी कँडेलले मनिषा कोइरालाको जीवनीमा आधारित पुस्तक जिजीबिषाको बारेमा विचार व्यक्त गर्नुभएको थियो। सामुदायिक रेडियो विजय एफएमको आयोजनामा भइरहेको पठन संस्कृति अभियानले समुदायमा पठन संस्कृतिको विकास गराउन मद्दत गरेको विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष त्रिलोचन सापकोटाले बताउनुभएको छ ।
२०८१ साल वैशाख १५ गतेबाट पठन संस्कृति अभियान सुरु भएको थियो र हरेक महिनाको अन्तिम शनिबार यो कार्यक्रम विजय विकास स्रोत केन्द्रको सभाहलमा हुँदै आइरहेको छ यस कार्यक्रममा पढ्नको लागि उत्प्रेरित गर्ने, पढ्नका लागि पुस्तक फिर्ता गर्ने गरेर उपलब्ध गराउने, छलफल गर्ने र आफूले पढेका पुस्तकका बारेमा आफूलाई लागेको कुरा सँगसँगै आफ्ना नयाँ अनुभवहरू पनि साटासाट गर्ने गरिन्छ ।