चितवन क्रिकेट संघका अध्यक्ष पियाको निधन

चितवन । जिल्ला क्रिकेट संघ चितवनका अध्यक्ष सुदीप पियाको निधन भएको छ । हृदयघातका कारण शनिबार बिहान पियाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
वि.स २०३४ सालमा जन्मिनुभएका पिया २०८० सालको साउन २३ गते चितवनमा भएको चितवन जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशन तथा साधारण सभाबाट अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । यसअघि सदस्य, उपाध्यक्ष र कार्यवाहक अध्यक्षको भूमिकामा पनि कार्यरत रहनुभएका पिया नेपालको क्रिकेटको विकासमा सक्रिय हुनुहुन्थ्यो ।
संघका सचिव सुरज ज्ञवालीका अनुसार पियालाई सुगरको समस्या थियो। आमा र भाई भारतमा रहेको र आउने क्रममा रहनुभएकाले पियाको अन्त्येष्टि भोलि गर्ने तयारी गरिएको छ।
चितवन जिल्ला क्रिकेट संघका अध्यक्षको रुपमा पियाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तयारी र विभिन्न क्रिकेट प्रतियोगिताहरुको आयोजना गर्दै ग्रासरुट क्रिकेटको विकासमा योगदान पु¥याउनुभएको छ। उहाँले राष्ट्रिय खेलाडि सन्दीप लामिछानेलाई सम्मान गर्दै चितवनको खेलकुद क्षेत्रको विकासमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । सन्दिपलाई राष्ट्रिय खेलाडि बनाउन समेत पियाको योगदान रहेको छ ।