रत्ननगरका सामुदायिक विद्यालयहरूमा व्यक्तिगत घटना दर्तासम्बन्धी सचेतनामूलक कार्यक्रम हुने

२०८२ जेठ ३१ शनिबार १७:०३:०० मा प्रकाशित

चितवन । चितवनको रत्ननगर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा व्यक्तिगत घटना दर्तासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन हुने भएको छ। विद्यालय तहका विद्यार्थीहरूमा घटना दर्ताको महत्त्वबारे जागरुकता फैलाउने र कानुनी पहिचान सुनिश्चित गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।

 

असार पहिलो हप्तामा रत्ननगरका तीन वटा सामुदायिक विद्यालयमा संचालन हुने उक्त कार्यक्रम रत्ननगर नगरपालिका-१६ स्थित भद्रकाली माध्यमिक विद्यालयमा आइतबार (भोलि), रत्ननगर-८ स्थित चित्रसारी माध्यमिक विद्यालयमा असार ३ गते (मंगलबार) र मालपुर माध्यमिक विद्यालयमा असार ५ गते (बिहीबार) कार्यक्रम सञ्चालन हुने भएको छ।

 

नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाको आयोजनामा हुन लागेको यस कार्यक्रममा व्यक्तिगत घटना दर्तालाई शतप्रतिशत सुनिश्चित गर्ने लक्ष्य लिइएको छ।  कार्यक्रममा जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेद जस्ता महत्त्वपूर्ण व्यक्तिगत घटनाहरूको दर्ताको महत्त्व, प्रक्रिया, कानुनी मान्यता तथा राज्यबाट प्राप्त हुने सेवा-सुविधा सम्बन्धी जानकारी दिइनेछ।

कार्यक्रमको सहजीकरण नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले गर्नुहुनेछ।