नारायणी मा.विले शैक्षिक वर्ष २०८२ लाई शैक्षिक सुधार वर्षका रुपमा लैजाने

२०८२ जेठ ३० शुक्रबार १८:३६:०० मा प्रकाशित

जेठ ३०, नवलपुर । नारायणी माध्यमिक विद्यालय गैँडाकोटले विद्यालय सुधार योजना अद्यावधिक  गर्नका लागि विद्यालय सुधार सम्बन्धि कार्यशाला गरेको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यशालामा विद्यालयको पञ्चवर्षिय योजना अनुसार तेस्रो वर्षमा भएका कार्यहरुको समिक्षा एवं चौथो वर्ष चालु शैक्षिक सत्रका योजना तथा कार्यक्रममा छलफल गरिएको थियो ।
नारायणी माध्यमिक विद्यालयले  शैक्षिक सत्र २०८२ लाई  शैक्षिक उपलब्धि सुधार वर्षको रुपमा मनाउने मुख्य योजना तय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद चापागाईँले विजय एफ.एमलाई जानकारी दिनुभयो । साथै उहाँले भौतिक पक्षमा विद्यालयले पञ्चवर्षिय योजना अनुसार अपेक्षा गरिए अनुसार प्रगति गरेको तर शैक्षिक गुणस्तर सुधारका लागि चालु शैक्षिक सत्रमा योजनावद्ध तरिकाले कार्य गर्ने कुरा बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट वडा नं ७ का वडा अध्यक्ष होमनाथ सापकोटाले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न वडाले गर्नुपर्ने कार्यमा कुनै कमी हुन नदिने कुरा बताउँदै अभिभावक विद्यालयसँग सँगै नजिक भइरहन सुझाब दिनुभयो ।
नगर शिक्षा अधिकारी डा. बालकृष्ण चापागाईँले विद्यालयबाट पढेर घरमा बालबालिका पुगेपछि आज के सिकेर आयौ भनेर प्रश्न गर्नका लागि अभिभावकलाई निर्देशन गर्नुभयो । 
कार्यक्रममा सहभागी संघसंस्थाका प्रतिनिधि , टोल विकास संस्थाका प्रतिनिधिले विद्यालयको शैक्षिक अवस्था सुधारका समुदायले गर्नुपर्ने जिम्मेवारी पूरा गर्ने कुरामा आफूहरु प्रतिवद्ध भएको कुरा बताउनुभएको थियो ।
विद्यालयले शैक्षिक सत्र २०८२ लाई शैक्षिक गुणस्तर सुधार वर्षका रुपमा अगाडी बढाउन विभिन्न योजना तय  गरेर अगाडी बढ्ने जनाएको छ । हामी विद्यार्थीका लागि विद्यार्थी राष्ट्रका लागि भन्ने नारालाई सार्थक बनाउन पहल गर्ने ,बालमैत्री वातावरण निर्माण, योजनावद्ध शिक्षण सिकाइ र मूल्याङ्कनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । भौतिक निर्माण तर्फ जयश्री खोला तटवन्धन, नारायणी पुष्पबाटिका निर्माण, गणित र सामाजिक प्रयोगशाला निर्माण, चमेनागृह व्यवस्थापन, विद्यालयको जग्गालाई कृषि जन्य सिकाइसँग जोड्ने, खेलमैदान निर्माणलाई प्राथमिकतामा राखेको छ । कार्यशालाले विद्यालय सुधार योजनालाई मूर्त रुप दिन प्रधानाध्यापक मिलन श्रेष्ठको संयोजकत्वमा विन्दु वि.क , छलिमाया परियार, संगीता खड्का, नन्दकली दर्लामी, दिपा सापकोटा, जगन्नाथ उपाध्याय र अमृतामाया वि.क सदस्य रहेको विद्यालय सुधार अद्यावधिक कार्यदल गठन गरेको छ ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नगर शिक्षा अधिकृत रामप्रसाद अधिकारी, वडा सदस्य विन्दु वि.क, वडा सदस्य छलिमाया परियार, नारायणी सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि,सूर्यदीप साकोस प्रतिनिधि, टोल विकास संस्थाहरुका प्रतिनिधि,  पूर्व अध्यक्ष बालुराम कुमाल, पूर्व अध्यक्ष विरभद्र सापकोटा लगायतको उपस्थिति रहेको थियो । 
विद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठले स्वागत गर्नुभएको सो कार्यशालाको सहजीकारण सहायक प्रधानाध्यापक जगन्नाथ उपाध्यायले सहजीकारण गर्नुभएको थियो ।