कावासोतीमा मोटरसाइकल दुर्घटना, तीन जना घाइते

२०८२ जेठ १९ सोमबार ०७:३८:०० मा प्रकाशित

नवलपुर । नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । कावासोती नगरपालिका-१६, चालिस किलो स्थित पूर्व-पश्चिम राजमार्गमा आज बिहान सवा ६ बजे मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।


चोरमाराबाट रजहरतर्फ जाँदै गरेको ग.प्र. ०४-००१ प १३०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा पल्टिएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जानकारी दिएको छ।


दुर्घटनामा कावासोती नगरपालिका-१७ का १९ वर्षीय चालक विशाल चौधरीको अनुहार तथा दुबै हातखुट्टामा चोट लागेको र उहाँको अवस्था मध्यम रहेको छ । मोटरसाइकलको पछाडि सवार देवचुली नगरपालिका-१६, आपचौरका १८ वर्षीय रोहित थनेतको अनुहार र बायाँ खुट्टामा सामान्य चोट लागेको छ । त्यस्तै, अर्का सवार देवचुली नगरपालिका-१६, शान्तिटोलका १९ वर्षीय मनिष महतोको टाउको, बायाँ हात र खुट्टामा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।


घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।