गैडाकोट वडा नम्बर १ का जेष्ठ नागरिकलाई स्वास्थ्य सम्बन्धि सचेतना प्रदान

२०८२ जेठ २० मंगलबार १७:५०:०० मा प्रकाशित

नवलपरासी पूर्व । नवलपरासी पूर्व गैडाकोटमा एकदिने विषय विशेषज्ञ डाक्टरद्वारा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
अबको आवश्यकता नसर्ने रोगमा योग एवं प्राकृतिक चिकित्सा विषयमा मंगलबार गैडाकोट १ मा रहेको शैलाजा आचार्य प्रतिष्ठानको सभाहलमा जेष्ठ नागरिक संघ गैडाकोट नगर समितिको आयोजनामा गैडाकोट वार्ड नम्बर १ भित्र रहेका जेष्ठ नागरिकको लागि लक्षित गरी एक दिने विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य सचेतना मूलक अन्तरक्रिया कार्यक्रम भएको हो । 
स्वास्थ्य सचेतना कार्यक्रममा करिब १५० जना बढि जेष्ठ नागरिकको उपस्थिती रहेको थियो ।
 प्राकृतिक चिकित्सालय रजहरबाट डाक्टर आजित पुरि र फिजियोथेरापी (पुरुष उपचारक) प्रकाश भण्डारीले योग र प्राकृतिक उपचारको पद्धतिबाट कसरी स्वस्थ हुन सकिन्छ ? खानपिन परिवर्तन कसरी गर्ने ? कस्तो किसिमको खाना खान उपयुक्त हुन्छ ? दैनिक जीवनमा के के गरियो भने हामि स्वस्थ हुन सकिन्छ भन्ने विषयमा जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सचेतना सम्बन्धी जानकारी गराउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिका वार्ड नम्बर १ का वडाध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीले जेष्ठ नागरिकका लागि वडा बाट गर्नु पर्ने सबैे सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । बाबा आमाको सेवा गरियो भने सप्ताह पुराण लगाउन नि पदैन ,चार धाम जान पदैन तेसैले जेष्ठ नागरिकलाई सधै माया र सम्मान गर्नु पर्छ वडाध्यक्ष रेग्मीले भन्नुभयो । हाम्रो वडामा जति पनि जेष्ठ नागरिक बुवाआमा हुनुहुन्छ, सबैभन्दा पहिला तपाईँहरूको जीवन खुसीमय हुनुपर्छ र खुसीका साथ बाँच्नुपर्छ रेग्मीले भन्नु भयो। 


 कार्यक्रममा जेष्ठ नागरिक संघ महासंघ प्रतिनिधि तथा गैडाकोट नगर समिति अध्यक्ष मुक्तिनाथ न्यौपानेले नगर संघले आजसम्म १२ वटा वडामा यस्तै कार्यक्रम गर्दै आएको र अबका दिनमा बाकि वडामा पुग्ने लक्ष्य रहेको बताउनुभयो । भगवान भनेको हाम्रो साक्षात मातापिता हुन् ,जेष्ठ नागरिक हुन् साक्षात वेदका ज्ञाता हुन् । गुरु एउटा विश्वविद्यालय हो भने जेष्ठ नागरिकहरु शब्दकोष हुन् उहाँहरूसँग धेरै ज्ञान छ । युवाहरुले धेरै ज्ञान प्राप्त गर्न सिक्नुपर्र्छ किनकि उहाँहरु धेरै कुरा पढेर ,भोगेर आउनुभएको छ अध्यक्ष न्यौपानेले बताउनुभयो । 
कार्यक्रममा जेष्ठ नागरिक संघ गैडाकोट वडा नम्बर १ का कार्यसमिति सदस्य अम्बिका प्रसाद घिमिरे ,पण्डित गुरु रामचन्द्र लम्साल, पण्डित गुरु फणिनारायण सिग्देलले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा ९० वर्ष उमेर काटेका जेष्ठ नागरिकहरू मध्येबाट ९३ वर्षका यज्ञ प्रसाद भट्टराई,९२ वर्षकी इन्द्रकुमारी बही, ९० वर्षका काशिराम आचार्य र ९० वर्षकी बृद्धाकला कडेललाई सम्मान समेत गरिएको छ । 
कार्यक्रममा गैंडाकोट नगरपालिका बालबालिका शाखा अधिकृत राधा पौडेल , मधुमाया रानाभाट ,वडा जनप्रतिनिधि लक्ष्मि प्रसाद चालिसे, समाजसेवी व्यक्तित्व लगायतको उपस्थिती रहेको थियो । 
शालिकराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक संघ  गैडाकोट नगर समिति अध्यक्ष मुक्तिनाथ न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।कार्यक्रमको सहजीकरण जेष्ठ नागरिक संघ गैडाकोट वार्ड नं १ का सचिव सोमनाथ शर्मा बस्ताकोटीले गर्नुभएको थियो ।