भरतपुर १६ मा उद्घोषण तालिमको शुभारम्भ 

२०८२ जेठ २० मंगलबार २०:५२:०० मा प्रकाशित

चितवन । भरतपुर महानगरपालिका वाड नं. १६ मा मंगलबारदेखि तीन दिनका लागि उद्घोषण तालिमको सुरुवात गरिएको छ । भविष्यका लागि सीप भन्ने उद्देश्यका साथ इ.ए.टि.ए एण्ड एग्रो ट्रेनर्स प्राइभेट लिमिटेड गुञ्जानगरको आयोजना र भरतपुर महानगरपालिका वडा नं. १६ को समन्वयमा तालिमको शुभारम्भ गरिएको हो ।

 

भरतपुर वाड नं. १६ का कार्यवाहक वडा अध्यक्ष दुर्गा सोडारी रेग्मीले महिला दिदिबहिनीहरुको क्षमता र नेतृत्व विकास गर्ने उद्देश्यले तालिमको व्यवस्थापन मिलाइएको बताउनुभएको छ । 


आयोजक संस्था इ.ए.टि.ए एण्ड एग्रो ट्रेनर्स प्राइभेट लिमिटेडका अध्यक्ष सन्तोष पण्डितले संस्थाले क्षमता तथा सीप विकासका विभिन्न कार्यक्रम गर्दै आइरहेको बताउनुभयो । सिद्धेश्वर महादेव मन्दिरका अध्यक्ष डिल्लीराम दवाडीले निरन्तर अभ्यासले सफलता प्राप्त हुने भन्दै तालिमको सदुपयोगका लागि शुभकामना दिनुभएको छ । कार्यक्रममा वडा सदस्य सारिका मजकोटी, शितल टोल विकास संस्थाका अध्यक्ष मधुसुदन दवाडी लगायतको उपस्थिति रहेको थियो ।

 

तीन दिनसम्म चल्ने तालिममा विजय एफएम १०१.६ का स्टेशन म्यानेजर श्रीधर उपाध्याय र स्वतन्त्र पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष सविता तिवारीले सहजीकरण गर्नुहुनेछ । तालिममा सहभागि प्रशिक्षार्थी तथा अतिथिहरुलाई आयोजक संस्थाका प्रतिनिधि सुनिल पण्डितले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सिद्धेश्वर महादेव मन्दिरका सचिव देवी न्यौपानेले गर्नुभएको थियो ।