अक्षर समूह चितवनको अध्यक्षमा लेखराम सापकोटा चयन

२०८२ बैशाख ३ बुधबार १७:५६:०० मा प्रकाशित

चितवन । अक्षर समूह चितवनको अध्यक्षमा लेखराम सापकोटा चयन हुनुभएको छ । मङ्गलबार द नारायणी रिसोर्ट गैंडाकोटमा आयोजित समूहको सातौँ अधिवेशनबाट सापकोटालाई अध्यक्ष पदमा चयन गरिएको निवर्तमान अध्यक्ष रमेश प्रभातले जानकारी दिनुभयो ।

सातौं अधिवेशनले सापकोटाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । जसअन्तर्गत सूर्यप्रकाश कँडेल उपाध्यक्ष, विनोदबाबु रिजाल सचिव, गायत्री अधिकारी कोषाध्यक्ष र सामना पहाड सहसचिव छन् । समितिको सदस्यहरूमा उपेन्द्र त्रिपाठी, प्रकाश थापा प्रथा, विद्या भण्डारी चिराग, आकाश पौडेल, अञ्जान प्रदीप र गीता पौडेल ढकाल चयन भएका छन् ।

 

मङ्गलबार साँझ गैंडाकोटमा बसेको समितिको पहिलो बैठकले भूपिन, रमेश प्रभात, ईश्वर कँडेल र प्रभाकर पण्डितलाई सल्लाहकारमा मनोनयन गरेको छ । २०६२ सालमा भूपिनको नेतृत्वमा स्थापित अक्षर समूहले पर्खालमा कला, समयको मेचमाथि भूपि शेरचन, पाठकको अदालतमा लेखक, विश्व कविता दिवस, अक्षर वृत्त र एक कविका एक दर्जन कवितालगायतका कार्यक्रम गर्दै आइरहेको छ ।
 

अघिल्लो कार्यकालमा यसै संस्थामा सचिव पदमा रहनुभएका सापकोटा सम्पूर्ण किताब नारायणगढका सञ्चालक हुनुहुन्छ । कायाकैरन मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशक समेत रहनुभएका सापकोटा पत्रकारिता, साहित्य सेवा र सिर्जनामा सक्रिय हुनुहुन्छ । 

 

नयाँ कार्यसमितिले पहिलो कार्यक्रमस्वरुप यही वैशाख महिनामा अक्षर वृत्तझ कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष सापकोटाले बताउनुभयो । यो कार्यक्रममा सहभागीले आफूले पढेको पछिल्लो पुस्तकको टिप्पणी राख्ने छन् ।  कार्यक्रम यसै महिना भरतपुरमा हुने सापकोटाको भनाई छ ।