बारामा टिपर र कार ठोक्किँदा २ जनाको मृत्यु

जनकपुरधाम । बाराको जितपुर सिमरामा टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । निजगढबाट पथलैया जाँदै गरेको प्र २-०३-००१ ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको बा ०१-०२५ च ५०७६ नम्बरको कार जीतपुर सिमरा नगरपालिका १६ स्थित भूइँपुल नजिक दिउँसो ३ बजेतिर ठोक्किएर दुर्घटना भएको हो ।
बाराका प्रहरी प्रवक्ता डिएसपी विजय राज पण्डितका अनुसार दुर्घटनामा चालक सर्लाहीको सुन्दरपुरका जितनारायण साह र कारमै सवार सर्लाहीको बरहथवा-१५ का नारायणहरी शर्माको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुबैजनालाई उपचारको लागि प्रसुति अस्पतालमा लग्दा चिकित्सकले मृत घोषणा गरेको डिएसपी पण्डितले बताउनुभयो । दुर्घटनापश्चात् टिपर चालक फरार भएका छन् । उनको खोजी कार्य भइरहेको डिएसपी पण्डितले बताउनुभयो ।