बालश्रम मुक्त नगरपालिका बनाउन गैँडाकोटका सरोकारवालाहरुको प्रतिबद्धता

गैँडाकोट । बालश्रम मुक्त नगरपालिका बनाउन गैँडाकोटमा आज सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । गैंडाकोट नगरपालिकाको आयोजना एंव जिल्ला उद्योग बाणिज्य संघ नवलपुरको सहआयोजनामा भएको बालश्रम मुक्त नगरपालिका सम्बन्धमा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले बालश्रम मुक्त नगरपालिका बनाउन पहल र सहयोग समन्वय गर्न प्रतिबद्धता जनाएका हुन् ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले बालबालिकाको क्षेत्रमा नगरपालिकाले बिभिन्न काम गर्ने बताउनुभएको छ । केही क्षेत्रमा अझै बालश्रमीक रहेकाले सबैले त्यसलाई हटाउन प्रतिबद्ध भएर काम गर्न आवश्यक भएको बताउनुभयो । सबै कुरा सबैलाई ज्ञान नहुने भन्दै सबैले एक आपसमा मिलेर काम गर्नुपर्ने र नगरपालिका प्रतिबद्ध भएको बताउनुभयो ।
उपप्रमुख शान्ति कोइरालाले सबैको हातेमालो र सचेतना भएमा बालश्रम मुक्त नगरपालिका बनाउन सकिने बताउनुभयो । यो अभियानमा सबै एकसाथ अगाडी बढ्नुपर्ने उपप्रमुख कोइरालाको भनाई छ ।
प्रशिक्षकमा राष्ट्रिय बाल अधिकार परिषदको प्रदेश समन्वय अधिकृत बद्री प्रसाद वाग्ले र नेपाल चेम्बर अफ कमर्स को प्रोजेक्ट डाइरेक्टर चन्द्रकान्त अधिकारी रहनुभएको थियो । उहाँहरुले बालबालिकाले पाउने अधिकार र बालश्रमको अवस्था लगायतको बिषयमा जानकारी गराउनुभएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल, वडाध्यक्षहरु रत्नप्रसाद सापकोटा, देविदत्त कँडेल, गोविन्दप्रसाद सुवेदी, तिलबहादुर चितौरे, सबै वडाका वडाध्यक्ष, कार्यापालिका सदस्य सहित महिला बाल बालिका शाखा प्रमुख सीता कुमारी लामिछाने, बाल कल्याण अधिकारी रामप्रसाद अधिकारी, बाल श्रम मुक्त पालिका फोकल पर्सन तारा उपाध्ययाय जिल्ला उद्योग बाणिज्य संघ नवलपुरका अध्यक्ष दिपक सापकोटा, नगर बाल सञ्जालका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो कार्यक्रमको सहजीकरण जिल्ला उद्योग बाणिज्य संघ नवलपुरका वरिष्ठ उपाध्यक्ष छवि लाल कंडेलले गर्नुभएको थियो ।