गैँडाकोटमा प्रधानमन्त्रीलाई बुझाइयो, विकासका मागपत्र

२०८२ बैशाख ५ शुक्रबार १८:२१:०० मा प्रकाशित


नवलपरासी पूर्व । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुर जिल्लाबाट माग भएका योजनाहरुमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ ।

नेकपा एमाले गैँडाकोट नगरकमिटिले गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न गैँडाकोट आउनुभएका प्रधानमन्त्री ओलीलाई जिल्लामा आवश्यक योजनाहरु, पालिकाका योजनाहरुको मागपत्र हस्तान्तरण गरिएको छ । 

नवलपरासी बर्दघाट सुस्तापूर्वको नाम संविधान संशोधनका क्रममा नवलपुर बनाउन सकिने समेत प्रधानमन्त्री ओलीले बताउनुभयो । 
पार्टीका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै ओलीले नेकपा एमाले देशकै राष्ट्रिय शक्ति भएको बताउनुभयो । २०८४ मा निर्णायक शक्तिको रुपमा नेकपा एमाले बन्नका लागि पार्टी भित्र सुदृढ एकता आवश्यक भएको समेत  बताउनुभयो । 


नवलपरासी पूर्वमा प्रतिनिधिसभाको दुबै क्षेत्रबाट पराजित हुनु ठूलो क्षति भएको बताउँदै, आगामी दिनमा सच्याउन अगुवा नेतालाई प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “कसरी दुर्घटना भयो मलाइ थाहा छैन, यो क्षेत्रमा पनि हारियो, अर्को क्षेत्रमा पनि हारियो, दुई वटा क्षेत्र छन संसदीय निर्वाचन क्षेत्र, दुबै क्षेत्रमा हारियो, यस्तो उर्वर ठाउँमा, यस्तो मलिलो ठाउँमा खडेरी परेको छ । देशलाई ठूलो घाटा भएको छ, ठूलो क्षति पुगेको हाम्रो प्रेष्टिजमा । पार्टीलाई जिताउन  अभियानमा लाग्नुस् ।” अगुवा कार्यकर्ता भेलामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको पनि उपस्थिति रहेको थियो । 


कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले नवलपुरतर्फ नारायणी तटबन्धनमा संघीय सरकारको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रम नेकपाा एमाले गैँडाकोट नगरकमिटि अध्यक्ष कृष्ण कंडेलको अध्यक्षतामा भएको थियो ।