ई-सेवाबाट १ करोड रकम चोरी गर्ने २२ वर्षीय युवक पक्राउ

२०८२ बैशाख ३ बुधबार १७:२७:०० मा प्रकाशित

काठमाडौं । अनलाइन भुक्तानी प्लेटफर्म ई-सेवाबाट एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । कन्चनपुरको कृष्णपुर नगरपालिका-१ घर भइ काठमाडौं अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा पक्राउ परेका हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालिमाटीबाट मंगलबार पक्राउ गरेको हो ।


बुढाले विभिन्न फिसिङ लिंकहरू पठाएर ४ हजार व्यक्तिको ई-सेवा अकाउन्टबाट १ करोड २ लाख रुपैयाँ चोरी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता अंगुर जिसीले बताउनुभयो ।

 

उनले एसएमएस मार्फत द अलर्ट, एटी अलर्ट जस्ता फिसिङ लिंक पठाउने र उक्त लिंक खोलेपछि ई-सेवामा पहुँच पुर्‍याएर रकम चोरी गरेको पाइएको प्रहरीको भनाइ छ । लिंक पठाएपछि तपाईंको खाता सस्पेन्ड हुन लागेको चेतावनी दिँदै भेरिफाईको लिंक खोल्न लगाएर व्यक्तिका ई-सेवामा पहुँच पुर्‍याएको आरोप छ ।

उक्त रकम उनले पशुपति ग्लोबल इनोभेशन प्रालिको मर्चेन्ट खाताहरुमा जम्मा गरेको पाइएको छ ।