शिक्षकलाई घर फर्कने वातावरण बनाउन गैँडाकोट नगरपालिकाको सरकारलाई अनुरोध

नवलपरासी पूर्व । गैँडाकोट नगरपालिकाले आन्दोलनरत शिक्षकका जायज माग पुरा गर्दै विद्यालय फर्कने वातावरण बनाइदिन सरकारलाई अनुरोध गरेको छ ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ “शिक्षक तथा कर्मचारीका संविधान सम्बत मागहरुलाई सम्बोधन गरी विद्यालय शिक्षा सम्बन्धि संवैधानिक प्रावधान र नेपाल सरकारले गरेका सम्झौता एवम् प्रतिवद्धताहरुलाई कार्यन्वयन गर्दै समयानुकुल र बालबालिकाहरुको हितलाई अनुकुल हुनेगरी गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने खालको विद्यालय शिक्षा ऐन जारी गरी शिक्षक तथा कर्मचारीहरुलाई उच्च मनोबलका साथ आफ्नो कर्मथलो फर्कने उचित वातावरण निर्माण गर्नको लागि नेपाल सरकारसंग अनुरोध गर्दछु ।”
शिक्षक महासंघको नेतृत्वमा १० दिनदेखि काठमाण्डौँमा शिक्षकहरु शिक्षा ऐनको माग गर्दै आन्दोलन रत रहेका छन् । गत चैत २० गते देखि सुरु भएको आन्दोलन अनिश्चित भनिएको छ । शिक्षक आन्दोलनले २०८१ सालको बार्षिक नतिजा प्रकाशन, विश्लेषण, आगामी शैक्षिक सत्र २०८२ सालको नयाँ भर्ना अभियान लगायत शैक्षिक गतिविधि प्रभावित भएकोप्रति गैँडाकोट नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ ।