गैँडाकोट नगरपालिकाद्वारा सोमबार ३५ भन्दा बढी व्यवसायिक फर्ममा बजार अनुगमन

गैँडाकोट नगरपालिकाले सोमबार गैँडाकोटका केही क्षेत्रमा बजार अनुगमन गरेको छ । गैँडाकोट वाड नं. १ र २ का केही क्षेत्रमा बजार अनुगमन गरेको हो । सोमबार ३५ वटा व्यवसायिक फर्महरुमा गरिएको बजार अनुगमनबाट म्याद गुज्रिएका ८ हजार ८ सय ५ रुपैँया बराबरका सामान नष्ट गरिएको गैँडाकोट नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले जानकारी दिनुभएको छ । अनुगमनका क्रममा स्टोरमा बिक्रीका लागि राखिएको म्याद गुज्रिएका सामाग्री फेला पारेपछि बरामद वा नष्ट गरिने गौतमले जानकारी दिनुभयो ।
पसलमा म्याद नाघेका सामाग्री भेटिनुका साथै दर्ता प्रमाण पत्र, खरिद तथा बिक्री बिल समेत उपलब्ध हुन नसके उक्त पसललाई कारवाही गरिने उहाँले बताउनुभयो । अहिलेसम्म व्यवसाय दर्ता नगरि पसल सञ्चालन गरेको धेरै पाइएको हुँदा तत्कालका लागि व्यवसाय दर्ता गर्न, नविकरण गर्न सुझाब दिइएको उहाँले बताउनुभयो । अर्को पटक अनुगमनमा जाँदा व्यवसाय दर्ता नगरि अटेर गरेको पाइएमा कानुन अनुसार कारवाही हुने आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले बताउनुभयो ।
अनुगमनमा खाद्य तथा गुण नियन्त्रण कार्यालयका ज्योति आचार्य, जिल्ला प्रशासन कार्यालय नवलपुरका राजेन्द्रप्रसाद शर्मा, उद्योग बाणिज्य संघ गैँडाकोटका प्रतिनिधि कमल शर्मा गौतम, शालिकराम सापकोटा, गैँडाकोट नगरपालिका पशु सेवा शाखाका डा. प्रमोद कुमार पौडेल, राजस्व शाखाका लक्ष्मीधर पौडेल, ईश्वरी आचार्य, कृषि शाखाका सुर्दशन ढुङ्गाना लगायतको उपस्थितीमा अनुगमन गरिएको थियो ।