न्यायिक समितिद्धारा गैंडाकोट ७ र ९ का  वडाबासीहरुलाई न्यायिक सचेतना प्रदान 

२०८१ चैत ९ आइतबार १८:४२:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोट नगरपालिकाको न्यायिक समितिको आयोजनामा आज गैंडाकोट वडा नम्बर ७ र ९ वडामा संयुक्त रुपमा न्यायिक सचेतना प्रदान गरिएको छ । गैँडाकोट वडा नम्बर ७ मा  न्यायिक सचेतना कार्यक्रम गरिएको हो ।


कार्यक्रममा गैंडाकोट नगरपालिकाका अधिवक्ता न्यायिक सहजकर्ता खिलनाथ घिमिरे र न्यायिक समिती सचिवालयको कर्मचारी तारा उपाध्यायले गैंडाकोट वडा नम्बर ७ र ९ का टोलबासीहरु एवम् महिला समुहका अध्यक्ष एवम् प्रतिनिधीहरुलाई न्यायिक समितीको क्षेत्राधिकार, मुलुकी तथा देवानी सम्बन्धी र मेलमिलापको अवधारणा र प्रक्रियाकाको बारेमा प्रशिक्षण दिनु भएको थियो ।


कार्यक्रममा न्यायिक समिति संयोजक एवं उपप्रमुख शान्ति कोइरालाले समाजमा कानुनी साक्षरता नागरिकमा प्रदान गर्ने हुनाले पनि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले कानुनी कुराको बारेमा सबैलाई जानकारी हुनुपर्ने र सबैलाई सक्षम र जानकारी गराउने दायित्व सम्झेर यस सचेतना कार्यक्रम गरेको बताउनुभयो । 


गैँडाकोट वडा नम्बर ७ का वडाध्यक्ष होमनाथ सापकोटाले गाउँघरमा भइरहेका कुरा र मेलमिलापका बारेमा जानकारी र कानुनी कुरा सिकाउदा सहज हुने बताउनुभयो । 
गैँडाकोट वडा नम्बर ९ का कार्यवाहक वडाध्यक्ष ज्ञानप्रसाद खनालले यस कार्यक्रमबाट समाजमा हुने साना तिना झै झगडा, समस्याहरुलाई समाजमा नै कसरी निराकरण गर्न सकिने  र कानुनी व्यवस्था के कस्ता रहेका छन् भन्ने विषयमा नागरिकले जानकारी प्राप्त गर्ने हुँदा राम्रो रहेको बताउनुभयो ।


न्यायीक समिति सदस्य गीता पौडेलले गैंडाकोट नगरपालिकाका १८ वटै वडामा न्यायिक सचेतना कार्यक्रम सञ्चालन हुने बताउनुभयो । 


न्यायीक समिति सदस्य सदस्य एबम् जनप्रतिनिधि द्रोण वन सन्यासीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा न्यायिक समिती सचिवालयको कर्मचारी तारा उपाध्यायले सहजीकरण गर्नुभएको थियो ।