गैँडाकोट ५ मा उद्घोषण तालिमको शुभारम्भ

नवलपरासी पूर्व । गैँडाकोट नगरपालिका वाड नं. ५ ले आइतबारदेखि तीन दिनको लागि उद्घोषण तालिमको शुभारम्भ गरेको छ । टोल विकास संस्था तथा महिला समूहका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विजय सामुदायिक शिक्षा सदनको हलमा कार्यक्रमको समुद्घाटन गरिएको छ ।
समुद्घाटन कार्यक्रममा गैँडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले टोल विकास संस्थाका कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्न तालिमको आवश्यकता देखिएको हुँदा तालिम सञ्चालन गरिएको बताउनुभयो । जीवन जिउने कला सिकाउने तालिमका कुराहरुलाई अवलम्बन गरि क्षमता विकासको बाटोमा अघि बढ्न वडा अध्यक्ष सापकोटाले बताउनुभयो ।
तीन दिनसम्म चल्ने तालिममा सामुदायिक रेडियो विजय एफएम १०१.६ का स्टेशन म्यानेजर तथा एडुश्री डटकमका सम्पादक श्रीधर उपाध्यायले प्रशिक्षण दिनुभएको छ । प्रशिक्षक उपाध्यायले आइतबार वाककला र मानव जीवनबीचको सम्बन्धका बारेमा प्रष्ट पार्दै स्टेजमा चढ्ने मनोवल निर्माणका लागि प्रेरित गर्नुभएको थियो ।
गैँडाकोट ५ का सबै टोलका प्रतिनिधिहरुको तालिममा सहभागिता रहेको छ । वडा सदस्य उषा परियारले समुद्घाटन कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने कार्यक्रममा नगरकार्यपालिका सदस्य शान्ति न्यौपाने, वडा सदस्य तुलसीराम गौतम लगायतको उपस्थिति रहेको थियो ।