श्रीहरिहर मन्दिरको ४१ औँ वार्षिकोत्सव सम्पन्न

२०८१ फाल्गुण ३० शुक्रबार १६:३०:०० मा प्रकाशित

नवलपरासी पूर्व । श्रीहरिहर मन्दिर परमानन्द सन्यास आश्रमको ३५ औँ साधारणसभा तथा ४१ औँ वार्षिकोत्सव एवम् ब्रह्रमलीन परमानन्द सरस्वतीको स्मृतिमा गुरुभण्डार कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । गैंडाकोट ७ शीतलनगर, गैंरीमा भएको कार्यक्रममा  आजीवन सदस्यता सम्मान, समाजमा धार्मिक जागरण र कला संस्कृति संरक्षणमा योगदान पु¥याएकोमा न्यु शितलनगर सांस्कृतिक समूह गैंडाकोट ७ लाई सम्मान गरिएको छ । 


कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले  मन्दिर परिसरमा पानीको बोरिङ निर्माणका लागि नगरको तर्फबाट प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।


देवघाटका पिठाधिश ज्ञानानन्द सरस्वतीजी महाराजले भौतिक सुखसुविधाभन्दा अध्यात्मको ज्ञानले मानिसलाई बढी सुख दिने उहाँले बताउनुभयो ।

पूर्व अध्यक्ष एबम् समाजसेवी गुरुप्रसाद कंडेल, शैक्षिक एबम् सामाजिक व्यक्तित्व चुडामणी शर्मा, सामाजिक व्यक्तिव नारायण पौडेलले हरिहर मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न गुरुयोजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

 
मन्दिरका कार्यवाहक अध्यक्ष जमुनादेवी कंडेलले सबैको साथ र सहकार्यका साथ मन्दिरको संरक्षण आवश्यक भएको बताउनुभयो । मन्दिरले अध्यात्म र समाजमा सकारात्मक प्रभाव दिने भएकोले समुदायले मन्दिरको संरक्षणमा लाग्नुपर्ने बताउनुभएको छ । 


कार्यक्रममा कार्यप्रगति प्रतिवेदन मन्दिर सचिव सविन सापकोटाले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षको आयव्यायको प्रतिवेदन उमानाथ शर्माले प्रस्तुत गर्नुभएको थियो ।


कार्यसमिति सदस्य कला पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सहसचिव भानु सापकोटाले गर्नुभएको थियो ।

श्रीहरिहर मन्दिर परमानन्द सन्यास आश्रममा हरेक हप्ताको सोमबार समाजमा धार्मिक भावनाको विकास र विश्वशान्तिको कामना गर्दै सामूहिक सन्ध्या आरती भैइरहेको छ । त्यस्तै, प्रत्येक शनिबार श्रमदान जस्ता कार्यहरु चलाउदै आएको सहसचिव भानु सापकोटाले बताउनुभयो ।