गण्डकी साकोसमा १२२ जनाद्वारा रक्तदान, ३० जनाले पहिलोपटक रक्तदान

२०८१ माघ १५ मंगलबार १४:२०:०० मा प्रकाशित

नवलपरासी पूर्व । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलबार गरेको रक्तदानमा एकसय २२ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्ने मध्ये  २३ जना महिला रहेका छन् । ३० जनाले पहिलो पटक रक्तदान गरेका छन् । गण्डकी सहकारीका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सुवेदीले गैरबित्तीय कार्यक्रम अन्तर्गत सहकारीले सदस्यहरुबीच सामाजिक भाव जागृत गराउने उद्देश्यले हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको बताउनुभएको छ । वार्षिक नियमित कार्यक्रम अन्तर्गत गरिएको रक्तदान कार्यक्रमले सदस्यहरुमा सामाजिक उत्तरदायित्वको भावना जागृत गराउने गण्डकी साकोसका कार्यकारी अधिकृत सुवेदीले जानकारी दिनुभयो । 


गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गण्डकी साकोसले गर्ने कार्यले मानिसहरुलाई जीवन प्रदान गर्ने हुनाले सहकारीको गैरवित्तीय सेवा प्रभावकारी रहेको बताउनुभएको छ । गण्डकी सहकारीका अध्यक्ष गोविन्द सुवेदीले संस्थाका सदस्यहरूको आर्थिक रुपान्तरणमा मात्र नभएर सामाजिक क्षेत्रमा पनि विभिन्न कार्य गर्दै आएको बताउनुभएको छ । संस्थाले स्वास्थ्य शिविर, रक्तदान, विद्यार्थीहरुका लागि छात्रवृत्ती लगायतका कार्य गर्दै आएको बताउनुभयो । 


रक्तदान कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु वेदप्रसाद गौडेल, प्रेमबहादुर गुरुङ, धनबहादुर पौडेल, एसडीआरसीका अध्यक्ष हुमकान्त आचार्य, जिल्ला सहकारी संघ नवलपुरका सचिव श्यामसुन्दर लामिछाने, गँैडाकोट २ का वडा अध्यक्ष प्रकाश सापकोटा, इलाका प्रहरी कार्यालय प्रमुख कमला नराल लगायतको उपस्थिति रहेको थियो । 


कार्यक्रममा उपस्थित मध्येबाट सबैभन्दा धेरैपटक रक्तदान गर्ने श्यामसुन्दर लामिछाने र पहिलो पटक रक्तदान गर्ने प्राप्ती सापकोटालाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो । संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक सकुन्तला न्यौपानेले स्वागत मन्तव्य व्यक्तगर्नुभएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव केशवराज शर्मा (पौडेल)ले गर्नुभएको थियो । 


कार्यक्रममा गत पौष २७ गते हर्दिमा गरिएको स्वास्थ्य शिविरका सहयोगीहरु स्वास्थ्य शाखा गँैडाकोट, टाइम फर्मा स्युटिकल्स, गणेश औषधि सदन गँैडाकोट २, रुपाली आयुर्वेदीक औषधालय नारायणगढलाई सम्मान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सुवेदीले बताउनुभएको छ । 


१६ हजार ७ सय सदस्य रहेको गण्डकी सहकारी यस क्षेत्रकै उत्कृष्ट सहकारीको रुपमा पहिचान बनाउन सफल भएको छ । संस्थाको २ अर्ब १० करोड कुल सम्पत्ती रहेको छ भने शेयर पुँजी २० करोड रहेको छ । ७ वटा सेवा केन्द्र सहित सञ्चालनमा रहेको यस गण्डकी सहकारीले आफ्नो जगेडा कोषमा २० करोड पु¥याएको छ ।