विकासको काम गर्दै गर्दा मानवअधिकारको पक्ष भुल्न नहुने सांसद शशांक कोइरालाको भनाइ

२०८१ माघ १६ बुधबार १९:१४:०० मा प्रकाशित

नवलपरासी पूर्व । मानव अधिकार तथा शान्ति समाजको २७ औँ राष्ट्रिय परिषद बैठक गैँडाकोटमा शुभारम्भ भएको छ । बुधबार र बिहिबार बैठकमा गैँडाकोट २ मा रहेको होटल मानसरोवरमा हुनेछ । बुधबार समुद्घाटनसत्रमा नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा नवलपुर १ का सांसद प्राध्यापक डाक्टर शशांक कोइरालाले समाजमा शान्ति स्थापनाका लागि मुनष्यले विवेकको प्रयोग गर्नुपर्ने बताउनुभयो । विकास र मानवअधिकार एकसिक्काका दुइ पाटाजस्तै भएको हुँदा विकासको मार्गमा अघि बढिरहँदा मानवअधिकारको मूल विषयलाई विर्सन नहुने आशयको धारणा राख्नुभएको छ । 

मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले जिम्मेवार तहका नागरिकले समालोचनात्मक रुपमा नबोलिदिदा अहिले राजनीति विकृत अवस्थामा पुगेको बताउनुभयो । अहिलेको पुस्ताले जलवायुको न्याय ( क्लाइमेट जस्टिस) को विषयमा आवाज उठाउनुपर्ने बताउनुभयो । गैँडाकोट र देवचुलीमा भएका विकासका नमुना अभ्यास प्रस्तुत गर्न पनि कृष्ण पहाडीले आग्रह गर्नुभएको थियो । 

कार्यक्रममा आफ्नो धारणा राख्दै गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले विपि अन्तर्राष्ट्रिय खेलग्राम स्थापनाका लागि पहल भइरहेको, जनताको सहज स्वास्थ्य परिक्षणका लागि नगरतहभित्रका अस्पतालको स्तरोन्नती, कक्षा १ देखि ५ सम्म निशुल्क शिक्षा, नारायणी तटबन्धन लगायतका विषयमा काम भएको बताउनुभयो । 

देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले ट्रमा सेण्टर निर्माणका लागि सम्झौता, नारायणगढ बुटवल सडक खण्डको खबरदारी, अन्नबाली तरकारीमा आत्मनिर्भर नगरपालिका लगायतका काम भइरहेको बताउनुभयो । यस क्षेत्रका सांसद डा. शशांकप्रति लक्षित गर्दै नगरप्रमुख न्यौपानेले जति गर्न सकिने हो, त्यति विकासका काम नभएको गुनासो प्रस्तुत गर्नुभएको थियो । नारायणगढ बुटवल सडकखण्ड समयमा नसकिदा यस क्षेत्रका नागरिकले स्वस्थ वातावरणमा बस्न नपाउने मानवअधिकारको उपयोग गर्न नपाएको गुनासो गर्नुभएको छ । 

मानव अधिकार तथा शान्ति समाज नवलपुर शाखाका अध्यक्ष कमल शर्माले अतिथि तथा उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति रामकृष्ण बरालको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । मानव अधिकार तथा शान्ति समाजको २७ औँ राष्ट्रिय परिषद बैठकले भोलीसम्ममा नयाँ कार्यसमिति चयन गर्नेछ ।