गैंडाकोट वडा नं. १८ का नागरिकको घरमै पुगेर स्वास्थ्य परिक्षण

२०८१ माघ १५ मंगलबार १२:५४:०० मा प्रकाशित

गैंडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा स्थानीयहरुको घर घरमै पुगेर उनीहरुको स्वास्थ्य परिक्षण गर्ने अभियान सुरु गरिएको छ । गैंडाकोट नगरपालिका वडा नं १८ ले वडावासीहरुको स्वास्थ्य अवस्थाबारे ध्यान दिदै घरघरमै पुगेर स्वास्थ्य जाँच गर्ने अभियान सुरु गरेको हो ।

स्वस्थ्य तथा समुन्नत समाज निर्माणको लागि घरदैलोमा स्वास्थ्य परिक्षण कार्यक्रम अभियान सुरु गरिएको वडाअध्यक्ष तिलबहादुर चितौरे (मगर)ले जानकारी दिनुभयो । माघ १४ गतेदेखि सुरु गरिएको स्वास्थ्य परिक्षण अभियान एकसाता सम्म चल्ने चितौरेले बताउनुभयो । एकसाताको अवधिमा वडाका झण्डै ३०० घरधुरीमा पुगेर स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जाँच गर्नेछन् ।

स्वास्थ्यकर्मीहरुले स्थानीयहरुको सुगर, प्रेसर, क्षयरोग लगायतका विभिन्न प्रकारका रोगहरुको परिक्षण गर्ने र निशुल्क औषधी समेत वितरण गर्ने कार्यक्रम रहेको गैंडाकोट नगरपालिका वडा नं १८ का सचिव रामु पौड्यालले बताउनुभयो । गैंडाकोट नगरपालिका स्वास्थ्य शाखा र रतनपुर स्वास्थ्य चौकीले घरदैलो स्वास्थ्य परिक्षण कार्यक्रमको संयोजन गरेका छन् ।