कालिका भगवती मन्दिरको ३३औं वार्षिकोत्सव मनाईंदै, ईन्द्रेणी टिमको प्रस्तुती रहने
गैंडाकोट । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३औं वार्षिकोत्सव माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलन गरी तीनदिने वार्षिकोत्सव कार्यक्रमबारे जानकारी गराएको हो ।
वार्षिकोत्सवको पहिलो दिन कार्यक्रमको उद्घाटन, साँझमा पितृहरुको नाममा बत्ती बाल्ने कार्यक्रम गरेर रातभर जाग्राम बस्ने र १७ गते कालिका भगवतीको विशेष पुजाआजा गरि नवनिर्मित मन्दिरमा देवीको प्रतिमा स्थापना गरिने छ । लगत्तै कालिकाका मेयर विनोद रेग्मीले झन्डै १ करोड खर्च गरेर निर्माण गरिएको मन्दिरको उद्घाटन गर्नेछन् ।
सो अवसरमा विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने समितिले जनाएको छ। साँस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरु अस्मिता डल्लाकोटी, कृष्ण कंडेल, छत्र शाही, शक्तिकुमार गोदार, युवराज चौलागाईसंगै ईन्द्रेणी टिम र स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
यसपटकको वार्षिकोत्सव भव्य र उत्कृष्ट बनाउन कालिका नगरपालिकाको अगुवाईमा कालिका मन्दिर परिसरमा निर्माण र व्यवस्थापनको काम भईरहेको छ । वार्षिकोत्सवलाई नै लक्षित गरी कालिका मन्दिर परिसर दुलही जस्तै चिटिक्क बनाएर सिगारिएको छ । मन्दिर आसपासका रुख, चौतारा तथा ठुलाठुला ढुंगाहरुमा कलात्मक आकृतिहरु बनाईएको छ ।
मन्दिरको पूर्वतर्फ रहेको कर्णनदीमा स्नान गर्न सहज गराउने उद्देश्यले सिंडीको निर्माण गरिएको छ । साथै मन्दिर नजिकै कालिकाको कोशेलीघर समेत निर्माण गरिने छ । कोशेलीघरमा कालिकाका उद्ममीले उत्पादन गरेका सामाग्रीहरुको प्रदर्शन र विक्रिवितरण गरिने प्रचारप्रसार समिति सदस्य उमेश सापकोटाले जानकारी दिए ।