जनक नमुना माविमा उत्प्रेरणात्मक कार्यक्रम

२०८१ माघ ८ मंगलबार २१:२३:०० मा प्रकाशित


नवलपरासी पूर्व । जनक नमुना माध्यमिक विद्यालय गैँडाकोटले विद्यार्थी, शिक्षक तथा अभिभावकका लागि ३ दिने उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरेको छ । मंगलबारदेखि सुरु भएको कार्यक्रम विहिबारसम्म सञ्चालन हुनेछ । 

यस कार्यक्रममा साङ्गितिक प्रार्थना व्यवस्थापन र असल विद्यार्थी तथा अभिभावक अभिमुखीकरण गरिने विद्यालयका प्रधानाध्यापक चूडामणि शर्माले बताउनुभयो । प्रधानाध्यापक कंडेलले विद्यार्थीको शारिरीक विकासका लागि सांगितिक पिटी र मानसिक तथा बौद्धिक विकासका लागि अन्य अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । 

मंगलबार र बिहीबार विद्यार्थीका लागि, बुधबार अपरान्ह शिक्षकका लागि, विहिबार विहान १० बजे अभिभावक, सामाजिक अगुवा, विद्यार्थी तथा शैक्षिक सरोकारवाला व्यक्तिहरुका लागि कार्यक्रम गरिएको प्रधानाध्यापक कंडेलले जानकारी दिनुभयो । 

गँैडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले विद्यार्थीहरुले जिम्मेवार पूर्वक प्रार्थना व्यवस्थापनको तालिममा सहभागि भइ सिकेर आफ्नो व्यक्तित्व विकास बढाउन आग्रह गर्नुभएको छ । 

गँैडाकोट नगर शिक्षा समिति सदस्य दोलराज पाण्डेले जनक नमुना माविले गरेको कार्यक्रमले विद्यार्थीलाई अनुशासनमा राख्ने, अग्रजलाई सम्मान गर्न सिकाउने, अभिभावकलाई आफ्नो कर्तव्य निर्वाहमा जिम्मेवार बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद सापकोटाले धेरै समयदेखिको प्रतिक्षाका बाबजुद यो कार्यक्रम गर्न सफल भएको बताउँदै विद्यार्थी, शिक्षक सबैलाई कर्तव्यनिष्ठ भएर सिक्न र आगामी दिनमा दैनिक प्रार्थना समयलाई व्यवस्थित गर्न आग्रह गर्नुभयो । 
तीन दिनका लागि विद्यालयले गरेको साङ्गितिक प्रार्थना व्यवस्थापन र असल विद्यार्थी तथा अभिभावक अभिमुखीकरण सम्बन्धि उत्प्रेरणात्मक कार्यक्रमको प्रशिक्षकको रुपमा हरिश ओली रहनुभएको छ ।

प्रशिक्षक ओलीले प्रार्थना व्यवस्थापनका साथमा, असल विद्यार्थी कसरी बन्ने, अभिभावकले कसरी दायित्व निर्वाह गर्ने, शिक्षक तथा अभिभावकलाई सम्मान किन गर्न जरुरी छ ? विद्यार्थी जीवनमा संघर्ष गर्न किन जरुरी छ ? कसरी विद्यार्थीको प्रेरक शिक्षक बन्ने लगायतका विषयमा अभिमुखीकरण गर्नुहुने विद्यालयले जनाएको छ । प्रशिक्षक हरिश ओलीले देशभर १२÷१२ सय विद्यालयमा प्रशिक्षणको भूमिका निर्वाह गरिसक्नुभएको छ ।