गैंडाकोटमा पोषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

२०८१ माघ ५ शनिबार १९:३६:०० मा प्रकाशित


गैंडाकोट । स्थानीय समुदायमा पोषणको स्तर सुधार गर्न लक्षित गर्दै आज गैंडाकोटमा पोषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । विजय विकास स्रोत केन्द्रको सभाहलमा गैंडाकोट नगरपालिकाको आयोजना र विजय विकास स्रोत केन्द्र गैंडाकोटको समन्वयमा पोषणसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो । 
कार्यक्रम विशेषगरी गर्भवती महिला, उहाँको परिवार र  महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई लक्षित गरि गरिएको थियो । साथै गर्भवती महिलाको हेरचाह, स्वास्थ्य जाँच, खानपान, बच्चाको अवस्था र घरपरिवारको हेरचाहलाई समेटिएर प्रशिक्षकद्धारा प्रशिक्षण गरिएको थियो ।


विजय विकास स्रोत केन्द्रको महिला तथा जनस्वास्थ्य प्रर्वदन उपसमिती संयोजक सिता रिजालले शरीरमा आइरन चक्कीको आवश्यकताको बारेमा जानकारी दिनुभयो । साथै गैँडाकोट आधारभुत अस्पतालमा पनि धेरै सेवा सुविधा उपलब्ध हुने हुनाले सेवा लिन आग्रह गर्नुभयो ।


कार्यक्रममा विजय विकास स्रोत केन्द्रका उपसमिती सदस्य माधव आचार्यले शरीरलाई शक्ति दिने, शरीरको बृद्धि विकास गर्ने, रोगबाट बचाउने र थप तागत दिने खानेकुराको बारेमा बताउनुभयो । आचार्यले पानी र चिल्लो पदार्थमा घुल्ने भिटामिनहरुको जानकारी दिनुका साथै पोषण र कुपोषण,  नवजात तथा प्रारम्भिक वाल्यावस्था,  किशोरावस्था र  गर्भवती तथा सुत्केरी अवस्थामा कस्ता खानपान तथा जीवनशैली अपनाउनुपर्छ भन्ने विषयमा उपस्थित सम्पूर्णलाई जानकारी दिनुभयो । उहाँले सुत्केरी आमा र बच्चाको तौल, घरमा खुवाइने खानपान, लगायतका कुराहरुमा प्रशिक्षण दिनुभएको थियो ।


त्यस्तै, कार्यक्रममा विजय विकास स्रोत केन्द्रका कार्यसमिती सदस्य फेमिला सापकोटाले गर्भवती महिलाले सेवन गर्नुपर्ने आइरन चक्की, क्याल्सियम, हरियो सागपात, भिटामिन, गर्भवती महिलाको चेकजाँच , बच्चाको हेरचाह, चेकजाँच लगायतको विषयमा प्रशिक्षण दिनुभएको थियो । 

कार्यक्रममा विजय विकास स्रोत केन्द्रको कार्यसमिती सदस्य शारदा विश्वकर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यसै संस्थाको कार्यसमिती सदस्य फेमिला सापकोटाले सहजीकरण गर्नुभएको कार्यक्रममा वडा नं ९ को आधारभूत स्वास्थ्य केन्द्र प्रमुख कालिदाश गौडेल, आधारभूत स्वास्थ्य केन्द्र गैंडाकोट ५ का अनमि मिना पौडेल, लक्ष्मी शर्मा, गैंडाकोट ६ का स्वयम्सेविका प्रतिभा सापकोटा, स्वाथ्यकर्मीहरु, विजय विकास केन्द्रका सदस्यहरु, गैंडाकोट १ देखि ९ सम्मका केही गर्भवती महिला, उहाँका परिवार लगायतको उपस्थिती रहेको थियो ।