अब वनहरुले १० प्रतिशत रकम नगरपालिकालाई बुझाउनुपर्ने 

२०८१ माघ ४ शुक्रबार १९:०३:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिकाको स्थानीय वन विधेयक २०८१ बहुमतले पारित भएको छ । गैँडाकोट नगरपालिकाको नगरसभाले शुक्रबार स्थानीय वन विधेयक २०८१ पारित गरेको हो । विधेयकमा नगरपालिकाको सार्वजनिक जग्गामा रहेको वनलाई सामुदायिक वनको रुपमा विकास र दिगो व्यवस्थापन गर्न सकिने जनाइएको छ ।


गैँडाकोट नगरपालिकाका वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक प्रकाश सापकोटाले स्थानीय वन विधेयक २०८१ सभामा प्रस्तुत गर्दै नगरपालिकाले राष्ट्रिय वन क्षेत्रमा पर्ने नदीजन्य साधारण निर्माणमूखी खनिज पदार्थको विक्रि वितरणबाट प्राप्त रकममध्ये २५ प्रतिशत रकम सम्बन्धित वन उपभोक्ता समुह सँगको समन्वयमा प्रभावित क्षेत्रको वन तथा वातावरण संरक्षणमा खर्च गर्नुपर्ने बताउनुभयो ।

 

साथै उहाँले सामुदायिक वन उपभोक्ता समुहले वन पैदावार विक्रि वितरण गरी प्राप्त गरेको रकममध्ये दफा २२ वमोजिम कुल प्राप्त रकमको १० प्रतिशत नगरपालिकालाई बुझाई बाकीँ हुन आएको रकमको २५ प्रतिशत रकम सामुदायिक वनको दिगो व्यवस्थापनमा खर्च गर्नुपर्ने जानकारी गराउनुभयो ।