माओवादीको केन्द्रीय कमिटी बैठक आजदेखि
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठक आजबाट सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । यसअघि बसेको स्थायी समिति बैठकले अध्यक्ष दाहालबाट ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस हुने टुङ्गो लगाएको थियो ।
केन्द्रीय कमिटी बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उहाँबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । केन्द्रीय समिति बैठक सञ्चालनको ‘मोडालिटी’ टुङ्गो लगाउन आज बिहान ८ बजे स्थायी समिति बैठक बस्नेछ । केन्द्रीय कमिटी बैठकमा ४ सय ९ केन्द्रीय सदस्य, २ सय ५ जना वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी १ सय २५ जनाको समेत सहभागिता रहनेछ ।