सूर्यदर्शन सहकारी ठगी मुद्दामा आज बहस हुने 

२०८१ पौष १९ शुक्रबार १०:०५:०० मा प्रकाशित


काठमाण्डौँ ।  सूर्यदर्शन सहकारी ठगी मुद्दामा आज पनि जाहेरीवालाको तर्फबाट बहस जारी रहनेछ । हिजोबाट सुरू भएको जाहेरीवालाका तर्फबाट बहस आज पनि जारी रहने भएको हो ।

अस्ति बुधबार प्रतिवादीको तर्फबाट भएको बहस सकिएपछि हिजोबाट जाहेरीवालाहरूको बहस सुरू भएको हो । तर जाहेरीवालाको बहस हिजो नसकिएकाले आज पनि जारी रहने भएको हो । हिजो जाहेरीवालाको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी, डा.सुरेन्द्र भण्डारीसहित अधिवक्ता बेदबहादुर विष्ट, रामचन्द्र गौतम, युवराज पराजुली र हरि कट्टेलले बहस गरेका थिए । 

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको मुद्दामा बहस भइरहेको छ । जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुने र जवाफी बहस भने उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्ने गरी व्यवस्था मिलाइएको कास्की अदालतका स्रेस्तादार राजन खनालले जानकारी दिनुभयो ।\

सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएपछि हिजोबाट जाहेरवालाको तर्फबाट बहस सुरू भएको हो । सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेका थिए ।