गैँडाकोटमा प्रस्तावित पार्क तथा सरसफाई केन्द्र निर्माणका लागि बृहत छलफल 

२०८१ पौष २० शनिबार १७:००:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिकाको वडा नं ७ कित्ता नं १ सरकारी दर्ता कायम भएको जग्गामा गैँडाकोट नगर स्तरीय प्रस्तावित पार्क तथा सरसफाई केन्द्र निर्माणका सम्बन्धमा बृहत छलफल कार्यक्रम नगपालिकाको सभाहलमा शनिबार सम्पन्न भएको छ ।

गैँडाकोट नगरपालिकामा निस्कने फोहरको व्यवस्थापन गर्नका लागि सो सरसफाइ केन्द्र स्थापना गर्न लागिएको हुँदा नगरपालिकाको लागि यो महत्वपूर्ण कार्य रहेको कुरा नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो । प्रमुख अधिकारीले वडा नं ७ मा निर्माण गर्न उपयुक्त रहेकाले वडा नं ७ का बासिन्दाहरुसँग प्रारम्भिक छलफल राखिएको कुरामा जोड दिँदै वडा नं ७ को नारायणी तटबन्धन, सुकुम्बासी समस्या, बाटो निर्माण लगायतका कार्यमा आफू सधैँ सकारात्मक रहेको र सक्दो सहयोग गर्ने कुरा बताउनुभयो ।


गैँडाकोट नगर प्रवक्ता शिवकान्त तिवारीले नगरले सरसफाई केन्द्रको बारेमा नक्साङ्कन र प्रारम्भिक अध्ययन गरेको कुरा बताउँदै केन्द्र निर्माणका लागि कुनै प्राइभेट कम्पनीलाई नदिइएको कुरा स्पष्ट पार्नुभयो । निर्माणका लागि गैँडाकोट ७ निवासी सकारात्मक हुनुभयो भने नगरपालिकाले बोलपत्र आब्हान गर्ने छ र निर्माणका लागि गैँडाकोट नगर भित्र बाटै लगानी गर्न सकिने कुरामा जोड दिनुभयो ।


गैँडाकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष होमनाथ सापकोटाले नगरपालिकाको लागि सरसफाई केन्द्र अति आवश्यक रहेको र यसका लागि कसैले आँट नगरेकाले वडा नं ७ मा केन्द्र राख्न मैले प्रस्ताव राखेकाले साथ दिन वडाबासीलाई आग्रह गर्नुभयो । सुकुम्बासी समस्या समाधानमा आँफू दिनप्रति दिन लागि परेको कुरा बताउँदै सुकुम्बासी आयोग बन्दा साथ समाधानको बाटो खुल्ने कुरामा जोड दिनुभयो ।


कार्यक्रमा विभिन्न राजनितिक दलका प्रतिनिधी, संघसंस्था प्रतिनिधी, टोल विकास संस्थाका प्रतिनिधी, महिला समूहका प्रतिनिधी  वडा नं ७ का स्थानीय बासिन्दाले सरसफाई केन्द्र गैँडाकोट नगरपालिकाको लागि आवश्यक रहेको कुरामा जोड दिँदै निर्माण अघि वडा नं ७ का बाटोघाटो , तटबन्धन, सुकुमबासी समस्या समाधान हुनुपर्ने कुरामा जोड दिएका थिए । साथै सो केन्द्रले प्रदुषण नगर्ने कुरामा विज्ञबाट बताए पनि सो कुराले विश्वस्त पार्नुपर्ने भनाई स्थानीयको थियो ।

कार्यक्रममा नगरप्रमुख मदनभक्त अधिकारी, प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल, नगरप्रवक्ता शिबकान्त तिवारी, सामाजिक विकास समिति अध्यक्ष रत्नप्रसाद सापकोटा, अन्य वडाका वडाअध्यक्ष, वडा नं ७ का जनप्रतिनिधी लगायत वडा नं ७ का स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो । 

सो कार्यक्रममा विज्ञ जीवन थापाले सरसफाई केन्द्रको सञ्चालन प्रक्रिया र फाइदाहरुका बारेमा प्रकाश पार्नुभएको थियो । पार्क तथा सरसफाई केन्द्र निर्माण समिति संयोजक होमनाथ सापकोटाको संयोजकत्वमा सम्पन्न सो बृहत छलफल कार्यक्रम सदस्य सचिव शंकर कंडेलले सहजीकरण गर्नुभएको थियो ।