अबको तीन दिन कतै पनि पानी पर्ने सम्भावना छैन ः मौसमविद् 

२०८१ पौष १९ शुक्रबार ०९:१८:०० मा प्रकाशित

अबको तीन दिन पानी पर्ने सम्भावना कतैपनि नरहेको मौसमविद्ले बताएका छन् । पहाडी तथा उच्च हिमाली भूभागमा घाम लाग्दै बादल लागेपनि पानी पर्ने सम्भावना भने कतै पनि नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा घाम लाग्दै बादल लाग्नेछ भने बाँकी प्रदेशमा मौसम सफा रहने छ ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने उहाँले सीआईएनलाई जानकारी दिनुभयो ।