पौष २५ देखि चितवन महोत्सव हुने, रोबोटद्वारा महोत्सवको समुद्घाटन गरिने

२०८१ पौष १८ बिहीबार १८:३८:०० मा प्रकाशित

चितवन महोत्सव पौष २५ देखि माघ १० सम्म हुने भएको छ । चितवनको सामाजिक, आर्थिक, र सांस्कृतिक प्रवद्र्धनका लागि चितवन महोत्सव २०८१ आगामी पौष २५ देखि नारायणी नदी किनारको प्रदर्शनी मैदान, नारायणगढमा आयोजना गरिने भएको आज उद्योग वाणिज्य सङघ चितवनमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । उद्योग वाणिज्य सङघ चितवनको आयोजनामा हुने महोत्सवले यस वर्ष  पर्यटनलाई मुख्य केन्द्रबिन्दु बनाउँदै चितवनलाई विविधता र समृद्धिको भूमिको रूपमा प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ। १५ दिनसम्म चल्ने महोत्सवमा ४३० भन्दा बढी स्टल रहेका छन् । 
यो १५ औं चितवन महोत्सव हो । महोत्सव परिसरभित्र निर्माण सामग्री व्यवसायीको सहकार्यमा निर्माण एक्स्पो पनि हुनेछ । चीन, बंगलादेश र पाकिस्तानबाट पनि प्रदर्शक आउने छन् । चिनियाँहरूले २० वटा स्टल दर्ता गरेको चिनियाँ उद्योग वाणिज्य संघको समन्वयमा, निर्माण एक्सपो, अटो परिसर, र परम्परागत फुड फेस्टिभल लगायतका गतिविधिहरू हुने महोत्सव मुल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभएको छ । 

आज भएको पत्रकार सम्मेलनमा उहाँले महोत्सवले चितवनका पर्यटकीय स्थलहरूलाई उजागर गर्न कृत्रिम पार्क, सफारी यात्रा, होमस्टे अनुभव, र वृत्तचित्र प्रदर्शनको योजना बनाएको वताउनुभयो । श्रेष्ठले रोबोटद्वारा महोत्सवको समुद्घाटन गरिनेछ भने टिकट अनलाइन र भौतिक दुबै माध्यमबाट खरिद गर्न सकिने बताउनुभएको छ । आयोजकका अनुसार महोत्सवमा करिब ५ लाख दर्शकको सहभागिता र ३० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान छ।
महोत्सवअन्तर्गत नै नारायणगढ क्याम्पाचौरमा पुस २९ गतेदेखि माघ ४ गतेसम्म परम्परागत खानाको प्रवद्र्धनका लागि फुड फेस्टिभलसमेत हुनेछ ।
महोत्सव १० दिनसम्म आयोजना गर्दै आए पनि अनुभव र दर्शकको चाहनाले गर्दा यस पटक पाँच दिन समय बढाएको अध्यक्ष श्रेष्ठले बताए । महोत्सव प्रवेश शुल्क सय रुपैयाँ रहेको छ । विद्यार्थीका लागि ५० रुपैँया शुल्क तोकिएको छ । अपाङ्ग र ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।  यो अवधिमा पाँच लाख दर्शकले महोत्सव अवलोकन गर्ने र ३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको दाबी छ ।  चितवन महोत्सव २०८१ ले जिल्लाको पहिचान, व्यवसाय, र रोजगारी प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने आयोजकले विश्वास लिइएको छ । आयोजकले सबैलाई महोत्सव अवलोकन गर्न र सफल बनाउन अपिल समेत  गरेका छन् ।