सहकारी प्रकरणः रबि र छबि लगाएतविरुद्ध आज मुद्दा दर्ता हुँदै
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति तथा पूर्व गृहमन्त्री रबि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीविरुद्ध आज मुद्धा दर्ता गरिँदैछ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछाने र जोशी सहित १९ जनाविरुद्ध आज मुद्दा दर्ता गर्न लागिएको हो।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने माथी अनुसन्धान गरि जिल्ला प्रहरी कार्यालय कास्कीले गत पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
गोर्खा मिडिया प्रालिका तत्कालिन प्रबन्ध निर्देशक लामिछाने, पूर्व सञ्चालक जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको रायसहित सो प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ ।
सहकारी ठगीमा लामिछानेमाथीको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै गत पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो। चार दिनको म्याद गत शुक्रबार सकिए पनी शनिबार सार्वजनिक बिदा भएकाले आज मात्रै अदालतमा मुद्दा दर्ता गर्न लागिएको हो ।
कानुन बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले अभियोजन गर्न आइतबारसम्म समयसीमा भएकाले आजै मुद्धा दर्ता गर्न लागिएको कास्की प्रहरीले जानकारी दिएको छ ।